काठमाडौँ, २९ फागुन । मजदुरको आन्दोलनका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड युटिएलको सेवा प्रभावित भएको छ ।
गत फागुन २० दिनदेखि मजदुरले थालेको आन्दोलनका कारण युटिएलको सेवा अवरुद्ध भएको हो । कम्पनी सञ्चालकले मजदुरका मागलाई बेवास्ता गरेको भन्दै यहाँ कार्यरत मजदुरले यही फागुन ८ गतेदेखि ‘सिस्टम डाउन’ गराएकाले उक्त कम्पनीले उपलब्ध गराउँदै आएको सबै सेवा ठप्प भएको हो ।
कम्पनीमा कार्यरत मजदुरले तलब तथा सेवा सुविधाका विषयमा व्यवस्थापनसँग माग गरेको र सो विषयमा व्यवस्थापन पक्ष सहमत नभएपछि लामो समयदेखि आन्दोलन हुँदै आएको थियो ।
अखिल नेपाल सङ्घसंस्था तथा बैंक वित्तीय श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राजन पाण्डेले श्रम ऐनअनुसार आफूहरुले राखेका माग पूरा गर्नेभन्दा पनि त्यहाँ कार्यरत मजदुरलाई निलम्बन गर्ने र प्रहरीबाट गिरफ्तार गराएकाले समस्या बढ्दै गएको बताउनुभयो ।
उहाँले कम्पनीले निलम्बन गरेका १० मजदुरको निलम्बन फुकुवा र दुई जनाको प्रहरीले छोडेपछिमात्र वार्तामा बस्ने बताउँदै समस्यालाई समाधान गर्नका लागि मजदुर बाधक नबन्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यप्रकाश पचौरीले मजदुरको आन्दोलनबाट डाउन भएका सबै सिस्टम सुचारु भएपछिमात्र अन्य विषयमा छलफल गर्न सकिने बताउँदै सो कार्यमा सघाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले कम्पनीमा भएको घटनाका विषयमा आफूले सरकारलाई अवगत गराएको जानकारी दिँदै मजदुरको आन्दोलनबाट कम्पनीमा ठूलो आर्थिक नोक्सान व्यहोर्नुपरेको बताउँदै कम्पनीको सुरक्षाको मागसमेत गर्नुभयो ।
कम्पनीले देशका ६५ जिल्लामा ९० हजारभन्दा बढी ग्राहकलाई दूरसञ्चार फोन र इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । देशभर रहेका १४४ वटा टावर आन्दोलनकै कारण अवरुद्ध भएका छन्














प्रतिक्रिया