३ कार्तिक २०८३, मंगलबार

नयाँ नक्सा अनुमोदनमा सिंगो संसद्

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । मुलुकको नयाँ नक्साअनुसार संविधानको अनूसूची अद्यावधिक गर्न सरकारले पेस गरेको संविधान संशोधन विधेयकका पक्षमा सिंगो सदन एकमत देखिएको छ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले संविधानमा रहेको निसान छाप सच्याउन जेठ ९ मा विधेयक दर्ता गरेको थियो। संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत गरेको छ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले मुलुकको स्वाधीनता, राष्ट्रियता र भौगोलिक अखण्डताका पक्षमा एक भएर उभिने भन्दै समर्थन जनाए। उनीहरूले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नु सरकारको ऐतिहासिक कदम भएको धारणा व्यक्त गरे। उनीहरूले भारतसँग राजनीतिक र कूटनीतिक वार्ताको तयारी गर्न ध्यानाकर्षण गराए। सैैद्धान्तिक छलफलमा ८४ जनाले भाग लिएका थिए।

नेकपाका कृष्णभक्त पोखरेलले नेपालको भूभाग समेटेर नक्सा जारी गर्ने काम ऐतिहासिक भएको उल्लेख गर्दै सिंगो संसद् एक भएर संविधान संशोधनको पक्षमा उभिनुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले नेपाली भूमि अतिक्रमण गरेको आरोप लगाए। लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदले नै विवादास्पद भनाइ राख्नु राष्ट्रहितविपरीत कार्य भएको उनको भनाइ थियो। उनले त्यस्तो कार्य दण्डनीय भएको बताए।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डताका पक्षमा कांग्रेस दृढ रहेको बताए। भारतले अतिक्रमण गरेका भूभागबारे आफ्नो पार्टीले औपचारिक, अनौपचारिक रूपमा आपत्ति जनाउँदै आएको उनले उल्लेख गरे। उनले लिम्पियाधुराबाट बग्ने नदी नै काली नदीको मुहान भएको दाबी गरे। संशोधन विधेयकका पक्षमा कांग्रेस केन्द्रीय कार्यसमितिले औपचारिक र संस्थागत निर्णय गरेको उनले सम्झाए। लिम्पियाधुरा, लिपुलेक र कालापानी गाँसेर भारतले नक्सा जारी गरेकोमा कांग्रेसले आपत्ति जनाउँदै आएको उनको भनाइ थियो। ती भूभाग समेटेर नक्सा जारी गर्ने र संविधानको अनुसूची अद्यावधिक गर्ने काम सकारात्मक भएको धारणा उनले व्यक्त गरे।

जनता समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठले राट्रियता, सार्वभौमसत्ता र स्वाधीनताका पक्षमा कसैसँग पनि सम्झौता गर्न नहुने भन्दै विधेयकप्रति समर्थन जनाए। कुटी याङदी नै काली नदी भएको दाबी गर्दै उनले आन्तरिक राष्ट्रियतालाई पनि बलियो बनाउनुपर्ने बताए।

नेकपाकी गंगा चौधरी सत्गौवाले नेपालका सांसदले भारतका पक्षमा बोल्नु आपत्तिजनक भएको बताइन्। जनता समाजवादीकी सरिता गिरिप्रति लक्ष्य गर्दै उनले भनिन्, ‘नेपालको सांसदलाई नेपालको नभई भारतको चिन्ता छ। राष्ट्रहितविपरीत काम गर्नेलाई दण्डनीय बनाइनुपर्छ।’ भारतले सुगौली सन्धि मान्दैन भने नेपालले पनि ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले नक्सा पारितसँगै आफ्नो जमिन फिर्ता ल्याउन सरकारले राजनीतिक र कूटनीतिक वार्ता गर्नुपर्ने, त्यस कार्यमा प्रमुख विपक्षी कांग्रेसको पूर्ण सहयोग रहने बताइन्। नरेन्द्र साउदले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।