
काठमाडौँ, २३ जेठ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना सङ्क्रमित भएको पृष्टि भएको छ । ट्राभल हिस्ट्रीका आधारमा सङ्क्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ ।
इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन् । पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैँ पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट टे«सिङ गर्नका लागि खटाइरहेको छ ।
अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी सङ्क्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बताउनुभयो ।
उपत्यकामा बढी निगरानी
उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी आफैँले गर्ने गरेको छ । इपिडिमियोलोजीले स्थानीय तहसँगैको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ ।
“देशभित्रका मानिस यहाँ आउने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि तयारी अवस्थामा राखिएको छ”, शाखा प्रमुख अधिकारीले भन्नुभयो, “यहाँ सङ्क्रमित भएपछि हामी आफैँ जाने गरेका छौं । –रासस















प्रतिक्रिया