बाँके, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राती भएको दुर्घटनाका मृतकको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ। एकजनाको सनाखत हुन बाँकी छ ।
नाम खुले पनि ठेगाना भने पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिनुभयो ।
उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का छन् ।
दुर्घटनामा घाइते २१ जनामध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेकाहरू सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् ।
सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो । –रासस