काठमाडौँ, १४ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमतिको संख्या ९ सय कटेको छ ।
वुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड १९) पुष्टि भएसँगै संक्रमितको संख्या ९ सय १ पुगेको हो ।
काठमाडौं, धरान, विराटनगर, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन १ सय २९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितहरुमा वुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए ।
त्यस्तै, झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको कोसी अस्पतालमा परीक्षण गरिएको थियो । त्यसैगरी, हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रवक्ता देवकोटाका अनुसार पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।
बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको हो ।
नेपालमा हालसम्म पुरुष ८०५ र महिला ९६ जना कोरोना संक्रमित रहेका छन् ।