
काठमाडौँ, २ जेठ । कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि धादिङकी ३० वर्षीय महिलाको गाउँ सिल गरिने भएको छ । शुक्रबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको गल्छी गाउँपालिका–८ कटुवालपौवा गाउँलाई सिल गर्ने निर्णय गरेको हो ।
गाउँमा थप संक्रमणको अवस्था हुन नदिन तथा अन्यको परीक्षण गर्न समितिको स्थानीय जनप्रतिनिधिहरुसहितको बैठकले सो निर्णय गरेको हो ।
प्रशासनले चारकिल्ला गल्छी गाउँपालिका–८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकलाई सिल गर्ने निर्णय भएको हो ।
गाउँको चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दै सिल गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीले बताएका छन् । त्यहाँ निषेधित क्षेत्रमा सबै आवत जावत बन्द गरिने भएको हो ।
गाउँपालिकालाई संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको छ ।
कटुवाल पौवा गाउँ क्षेत्रमा सम्पुर्ण सुरक्षा व्यवस्था मिलाउनको लागि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ भने नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।
ति महिलामा बिहीबार कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।















प्रतिक्रिया