३ कार्तिक २०८३, मंगलबार

धादिङकी संक्रमित महिला ४२ दिनपछि गाउँबाट काठमाडौँ आएकी थिइन्, कसरी भयो संक्रमण ?

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । बिहीबार संक्रमण पुष्टि भएकी धादिङकी महिला काठमाडौँको सतुंगलमा बस्ने गृहणी रहेकी बुझिएको छ । हाल उनी पाटन अस्पतालको आइसोलेसनमा रहेकी बताइएको छ ।

उनीमा कसरी कोरोनाभाइरस संक्रमण देखियो भन्नेबारे खोज गरिए पनि यथार्थ कारण पत्ता लाग्न सकेको छैन । आफ्ना श्रीमान र छोरासँग बस्दै उनी चैत १५ गते धादिङ गएर वैशाख २७ गते काठमाडौँ फर्किएकी जनाइएको छ ।

धादिङ जिल्ला प्रशासनले उनी एक विशुद्ध गृहणी रहेकी र उनको श्रीमान एक निजी संस्थामा काम गर्ने जनाएको छ । तर उनमा कसरी संक्रमण देखिएको भनेर नसकिएको जिल्लाले जनाएको छ ।

संक्रमित महिलाको परिवार काठमाडौँको सतुंगलबाट ४२ दिनअघि नै उनीहरु मोटरसाइकलबाट गाउँ गएको पाइएको छ । उनीहरु चैत १५ गते मोटरसाइकलबाट धादिङको गल्छी गाउँपालिका ८ गोगनपानीस्थित कटुवाल गाउँमा गएका प्रशासनले जनाएको छ ।

यद्यपि गाउँमा पनि उनीहरु अन्य मानिससँग भने सम्पर्कमा नगएको पाइएको छ । ति महिला आफ्नो नजिकैको माइतमा गएपनि त्यहाँ अन्य मानिस नआएको बुझिएको छ ।

उनीहरु ४२ दिन गाउँ बसेका थिए । सरकारले केही उद्योगहरु खोल्ने भएपछि वैशाख २७ गतेमात्रै काठमाडौँ आएका थिए । काठमाडौँ भित्रिने स्वास्थ्य परीक्षण गर्ने नीतिअनुसार उनको वैशाख २९ गते स्वाब संकलन गरिएको थियो । उनको जेठ १ रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको हो । उनको श्रीमान तथा छोराको परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

उनमा संक्रमणको काराण र स्रोत पत्ता लगाउन कठीन भइरहेको छ । तर कन्ट्याक्ट ट्रेसिङ गरिरहिएको जनाइएको छ ।

गाउँमा कोरोनाभाइरसको संक्रमण भेटिएपछि ति महिलाको गाउँका अन्यको पनि परीक्षण गरिने प्रशासनले जनाएको छ ।