३ कार्तिक २०८३, मंगलबार

महामारीमा पनि एनआईसी एशियाको १० प्रतिशत मुनाफा आर्जन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् ।

विश्वव्यापी महामारी कोरोनाभाइरसको कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२% (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०% (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पुर्याउन बैंक सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एन आई सी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ ।

बैंकले कुल कर्जा लगानीको हाल ७४% कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ ।

विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५% भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ % रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो ।

बैंकले चालु आ. व. को ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ ।

निक्षेप तर्फ १० ग्राहक महानुभावहरूको अंश ११% यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्दछ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।

यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।