
पत्रकारितामा धेरै कमले उपयोग गर्ने एउटा भनाई राख्छु, सर्वप्रथम– ‘नराम्रो समाचार वाइन (अल्कोहल) होइन, यो उमेरसँगै सुध्रिँदै जाँदैन ।’
(न)राम्री राजनीतिकर्मी ? सुध्रिन्छन् त ? कमजोरी कसैको भाषामा हुन सक्छ, कसैको मौनतामा पनि हुन सक्छ । कसैको व्यवाहारमा, कसैको अभिव्यक्ति दिने शैलीमा ।
शीर्षकमा टाइप मिस्टेक वा अर्थ नलाग्नेगरी यस्तो राखिएको होइन । सामाजिक सञ्जालमा बेलामौका ट्रोल भएका विपरित खेमाका दुई पात्रको चर्चा हुनेछ– नबिना र बिनाको ।
हो, अब लख काट्न सजिलो भयो । एउटी नबिना लामा र अर्की बिना मगर (दाहाल) । यी पात्र राजनीतिक शोरुमका भयंकर लोकप्रिय हुन् । अधिक मन जितेर र अधिक मत जितेर सदनमा पसेका छन् । मन जित्ने नबिना, मत जित्ने बिना ।
फुच्चे हुँदा ब्ल्याक एन्ड ह्वाइट टिभीमा शनिबार दिउँसो एक बजे नेपाल टेलिभिजनमा हेरेको ‘सीता और गीता’ भन्ने फिल्मको कथा त होइन । तर प्रवित्तिगत हिसाबलाई भागा लगाउँदा यी दुई पात्रका कार्यशैलीमा भिन्नता देखिए पनि राजनीतिक शेषशुन्य छन् ।
३३ प्रतिशतका अनिवार्य हकदार थिए । किनकी यहाँ कुनै बौद्धिक, चरित्रवान्, कानुनका जानकार, गरिबकी छोरीको भाग लाग्दैन थियो । यो, कि त केपी बुवाले कि त प्रचण्ड बुवाले चुनाव अघि या पछि बुझेको सत्यका दुई पाङ्ग्रा हुन् ।
त्यसैले त यीनलाई जति घुमायो, हाम्रा युट्युवधारी टेलिभिजन, मिडिया या अनेक भनौं त्यसको टिआरपी त्यहि रफ्तारमा घुम्छ, डलर त्यहि रफ्तारमा हाम्रा बैंक खातामा झर्छन् । यी पात्र आफैं मात्र चलेका छैनन्, संसार नै मैं हुँ भन्ने पत्रकारका हरेक गाँसमा पनि चलेकै छन् । अर्को नमिठो वास्तविकता के हो भने– आम पाठक पनि यहि रुचाउँछन् । गसिपमा रुमल्लिन्छन् । यथार्थ र गहनतासँगको सरोकार अति कम हुन्छ ।
यी सबै कुरालाई विचरण गर्दा यो १२ बजे मध्यरातमा ८ कक्षामा मलाई विज्ञान विषय पढाउने शिक्षक उमाकान्त चौधरीले भनेको सम्झना आउँछ– यो संसार नै चक्र हो, यो एक अर्कासँग कहिँ न कहीँ ठोक्किन्छ ।
मोबाइलमा सामाजिक सञ्जाल कोट्याउँदै दिनभरीको भर्चुअल बहस, आलोचना, गाली, बफादारीमा झलक गन्धर्वको सारङ्गीको धुनजस्तो चिज पढ्दै इरफान खानको फिल्म हेर्दैथिएँ– मदारी ! फिल्म मजेदार लाग्यो । पत्रकारिता र फोहोरी राजनीतिको गज्जबको कथा थियो ।
तर धेरैचाहिँ सामाजिक सञ्जालको ट्रोलले तानिरहेको थियो । हरेक दिन नयाँ विषयमा विश्वबजारमा छरिएका नेपालीको रोष, आक्रोश चलिरहेको हुन्छ । वाद विवाद भइरहेको हुन्छ ।
राजनीतिका नाममा कुर्सीको वरिपरि भुनभुनाइरहेका नबिना, बिनाहरूको काम अस्वभाविक होइन । किनभने तिनलाई शोरुममा राखेर राजनीतिको बजारीकरण गर्ने अरु कोही छ– नेपथ्यमा । यहाँ जनताको आँसु बिक्दैन । यहाँ नेताको आँसुले निम्त्याएको चुनावी मैदान बिक्छ । धत् ! त्यसैको बजारमा राखिएका सिद्राका व्यापार जस्ता ब्यालेडमा आँसु नबिक्नेको मत फटाफट बिक्रि भएको भेटिन्छ ।
अब नेपथ्यमा रहेका महाजनहरूको परिचय खोज्ने काम पाठककै जिम्मा छाड्दै विषयबस्तुमा अघि बढ्छु । राजनीतिको डंगुरमाथि विविध विषयको चर्चा गर्न सकिन्छ ।
तर, विषयान्तर नगरी प्रसङ्ग कोट्याऊँ (न)बिनाहरू र टिआरपीको ।
नेपालमा राजनीति एउटा खुद्रा व्यापार जस्तो बनाइएको छ । अरुको बेफाइदा, कमजोरीमा आफ्नो नाफा खोज्ने । त्यसका लागि प्रयोग हुन्छन् हर प्रकारका हत्कन्डा अपनाउन सक्ने, मिडिया । टिआरपी, गाँसको जो सम्बन्ध छ । भनिन्छ नि– व्यापारिक दुनियाँमा खराब समाचार प्रायः राम्रो खबर हुन्छ अरु कसैका लागि । एउटाको गिर्छ, अर्काको सुरु हुन्छ ।
अहिले नबिनाले एउटा अन्तरवार्तामा दिएको अभिव्यक्तिको विरोध गर्न बिनाका समर्थकहरू उद्दत छन् । उनले सांकेतिक रुपमा कुन माइका लालले केपी ओलीलाई हटाउन सक्छ भनेकी थिइन् । यसमा प्रचण्डका पक्षधरता राख्नेहरूले नबिनाको राजनीतिक हैसियत त्यो तहमा प्रश्न गर्ने वा अहंकार देखाउने नरहेको भन्दै ट्रोल गरिरहेका छन् । मिडियाले त्यसलाई टिआरपीका लागि उपयोग गरेका छन् ।
असलमा नेपाली राजनीतिक परिवेशमा हामीलाई न नबिना न बिना कोही पनि चाहिएको होइन । व्यक्तिगत रुपमा होइन, यी नाम प्रवित्तिगत रुपमा अगाडि आए, अवसरका रुपमा अगाडि आए तर राजनीतिक जीवनकालमा माखो मार्ने काम गरेनन् । हुन त जुन प्रवित्तिले हुर्काएको परिवेश छ त्यसमा नै पिङ मच्याउनुपर्ने बाध्यता उनीहरूमा हुन सक्छ । तर, अवसर र आरोपका बिम्बका रुपमा उनीहरू उभिएका छन्, आफूलाई त्यो भन्दा माथि उठाउने साहस गरेका छैनन् ।
नेपाली राजनीतिमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी नबिनाले कुनै पनि बेला शिक्षाको विषयमा कुरा उठाएको देखिएको छैन । उनले यस्तो महामारीका बेला शिक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ, विद्यार्थीको भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा कुनै फोरममा आफ्ना धारणा दिएको पाइँदैन ।
राजनीतिमा लागेका (न)बिनाहरूलाई सुझाव छ– राजनीति त्यति सजिलो काम पनि होइन, जति सजिलोसँग तपाईहरूलाई पद र अवसर प्राप्त भएको छ । यदि, यो अवसरलाई चाकरी गर्न र दुरुपयोग गर्न मात्र उद्दत बन्नुभयो भने यो त पक्कापक्की छ– महिला अधिकारका सवालले जवाफ पाउने छैनन्
राष्ट्रिय राजनीतिको जोड घटाउ र आलोचना समर्थनको भाषा उनीबाट कसैले चाहेको होइन, आजको आवश्यकता पनि होइन । समानुपातिक सूचीमा महिला कोटामा संसद भवन छिरेकी नबिनाले महिला अधिकार, उनको सीप र रोजगारीका निम्ति सदनमा कुनै पनि बेला बोलेको पाइएको छैन ।
प्रतिनिधि सभाको छैठौं अधिवेशन सुरु भयो तर आजसम्म टिप्पणीकारले नबिनाले एक पटक मात्र सदनमा बोलेको पाएको छ त्यो पनि आफ्नो क्षेत्र, लिङ्गको प्राधिकारका सवालमा होइन । समाचारमा आइरहने पात्र हुन् यीनि । कहिले प्रहरीले पक्राउ गरेका गुन्डा नाइके छुटाउनका लागि दलबलसहित दबाब दिने त कहिले विवादीत भनाई राखेर । राजनीतिलाई यति कुरुप चित्रमा कोर्न सघाउ गर्ने यीनले गरेका कामहरू र उपलब्धी केचाहिँ भए होला ? ताज्जुब लाग्ने प्रश्न होइन र ?
रह्यो बिनाको सवाल । ओली नेतृत्वको सरकारकी एक जिम्मेवार मन्त्रालयको नेतृत्वमा छिन् । हुन त आँसुको चुनावी मैदानबाट उठेकी यीनको व्यक्तिगत र राजनीतिक यात्राका विषयमा धेरै मन्थन गर्न आवश्यक छैन । केही संघर्ष थिए होला तर धेरैचाहिँ अवसरवादको खुड्किलो चढेका कारण नै यो अवस्थितिमा छिन् भन्नलाई कुनै आपत्ति रहेन । सारा जगले जान्ने कुरा हो ।
शक्तिमा भएपछि यीनले कति जनतालाई कति पानी खुवाइन् ? फुस्रो आश्वासन दिने र विवादको घेराभन्दा बाहिर कहिल्यै पनि आउन सकिनन् । मेलम्ची खानेपानी आयोजनालाई यहि बेला ल्याउँछु भन्नेदेखि ठेकेदार भगाउनेसम्ममा उनको हात रह्यो । बाहलवाला सचिवले उनको कमिशनको कुरा नमिल्दा बर्बाद भयो भनेर पत्रकार सम्मेलन समेत गर्नुपर्ने अवस्थामा बिनाको राजनीतिक नैतिकतामा प्रश्न उठ्नु स्वभाविक हो । मन्त्रालयलाई प्राइभेट लिमिटेड जस्तो बनाएको र विविध निकायमा मनलाग्दी नियुक्ति र सरुवा बढुवा गरेको भन्ने अभियोगबाट मुक्त छैनन् ।
मुस्किलले सदनमा उठेका प्रश्नको जवाफ दिनका लागि यीनले पनि खासै उपस्थिति जनाएको पाइँदैन । यीनको न्युनतम योग्यता नै ‘प्रचण्डकी बुहारी’ भन्ने प्रचारबाजी सतहमा नै छ । यसकारण उपलब्धीमुलक काम गर्नै पर्दैन, नगरे प्रश्न उठे सामना गरिदिने ससुरा भएपछि के लाग्छ ?
यी पात्र हुन् । प्रवित्तिका पात्र । राजनीतिको नैतिकतासँग कुनै सम्बन्ध हुँदैन भने जस्तै हुन् । यीनको उपस्थिति या जिम्मेवारिताको सवाल किन गर्ने ? मिडियालाई पोलिटिकल गसिप चाहिन्छ, यस्ता पात्रको प्रभावकारी उपस्थिति भएसम्म टिआरपीको खाँचो पनि हुँदैन । यी कुनै न कुनै असान्दर्भिक प्रकरणमा जोडिन्छन् र मिडियाले त्यसलाई ‘क्याच’ गर्छन् ।
सामाजिक आन्दोलन एकातिर चलिरहेको छ, लैंगिक विभेदको अभियान अर्कातिर । भ्रष्टाचारविरुद्धको समाज निर्माणका लागि अनेक प्रकारका सवालहरू उठेका छन् । यी अहम् सवाललाई जोडतोडका साथ उठाएर कार्यान्वयनका लागि क्रियाशील हुनुपर्ने आजका पुस्ता हुन् (न)बिनाहरू ।
तर, भ्रष्टाचारका लागि बनेका सरकारमा सहभागीता, त्यसको बचाऊमा सक्रिय हुँदा सायद, निर्मला पन्तहरूको न्याय पनि लज्जित भएको हुनुपर्छ । नन्दमायाहरूको सवाल त कसले उठाइदिन्छ ? राजनीतिमा लागेका (न)बिनाहरूलाई सुझाव छ– राजनीति त्यति सजिलो काम पनि होइन, जति सजिलोसँग तपाईहरूलाई पद र अवसर प्राप्त भएको छ । यदि, यो अवसरलाई चाकरी गर्न र दुरुपयोग गर्न मात्र उद्दत बन्नुभयो भने यो त पक्कापक्की छ– महिला अधिकारका सवालले जवाफ पाउने छैनन् ।















प्रतिक्रिया