३ कार्तिक २०८३, मंगलबार

संक्रमितको संख्या बढ्दै तर, परीक्षण घटाउँदै सरकार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ वैशाख । देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् ।

कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर (पत्र) भएको खोलभित्र बसेको हुन्छ । खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ ।

तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् । सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय, नारायणी अस्पतालमा दुई सय र कोसी अस्पताल विराटनगरमा ५० किट आरएनए बाँकी छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि दुई दिन पुग्ने किट बाँकी रहेको जनाएको छ ।

किट अभावका कारण पिसिआर परीक्षण पनि घटेको छ । दैनिक एक हजारदेखि १५ सयसम्म हुँदै आएको पिसिआर परीक्षण हाल दुई सयको हाराहारीमा झरेको छ । बिहीबार भने चार सय १५ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सहयोगी संस्थाहरूले पिसिआर रिएजेन्ट दिएको, तर आरएनए किट नदिएका कारण समस्या भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । सरकारले ओम्नी समूहमार्फत किनेका १० हजार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग भएका तीन हजार र राष्ट्रिय क्षयरोग केन्द्र र केही निजी प्रयोगशालाले सहयोग गरेका आरएनए किटबाट हालसम्म परीक्षण हुँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वीट्जरल्यान्ड र जर्मनी सरकारले सहयोग गरेका आरएनए किट बिहीबार आइपुगेकाले तत्कालै समस्या समाधान हुने बताए । उनका अनुसार स्वीट्जरल्यान्डले ३० हजार आरएनए किट र ३० हजार पिसिआर रिएजेन्ट तथा जर्मनीले चार हजार आरएनए किट सहयोग गरेको छ । ‘मन्त्रालयले अभाव भएका ठाउँमा तत्काल आरएनए एक्स्ट्राक्सन किट पठाउँछ,’ उनले भने ।

डा. पोखरेलले सेनाले समयमै स्वास्थ्य सामग्री ल्याउन नसकेका कारण पनि समस्या भएको बताए । सेनाले २६ हजार आरएनए किट ल्याउनुपर्नेछ । मंगलबारसम्म ल्याइसक्नुपर्ने भए पनि सेनाले अहिलेसम्म ल्याउन सकेको छैन । स्वास्थ्य मन्त्रालयले गरेको खरिद प्रक्रियामा विवाद भएपछि सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री खरिद गर्ने र त्यसको समन्वय सेनाले गर्ने निर्णय गरेको थियो । अर्जुन अधिकारीले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।