
यो अनौठो विषय होइन राजनीतिमा जो कोही रमाउन चहान्छन् । अझ एक कदम अगाडि बढेर भनौं– नेपाली राजनीतिमा त झन् यो व्याप्त चाहना हो ।
हर राजनीतिज्ञलाई साझा प्रश्न छ– के तपाईले राजनीतिलाई प्रेम गर्नु भएको छ ?
राजनीतिलाई ‘प्यासन’ बनाउनु भएको छ ? जबसम्म राजनीतिका निम्ति ‘प्यासोनेट’ हुनु हुन्न तपाई राजनीतिलाई माया गर्नु हुन्न । राजनीतिलाई निरन्तर ‘सेक्स’ मात्र गरिरहनु भएको छ । मजा लिईरहनु भएको छ तर माया छैन । गर्भ बसाउनुहुन्छ तर माया देखाउनुहुन्न, त्यसको पतन गराइरहनु भएको छ ।
नेपाली समाजमा हुर्किएको राजनीतिक प्रवित्तिको उदाहरण हो, यो । तपाईले माया गरेको भए के हुने थियो ? त्यो पनि यो आलेखमा परिकल्पना गरिनेछ ।
त्यसअघि लेखिका फे वेल्डन भन्छिन्– मायाका अनेक फल हुन्छन् । माया के हो ? सेक्स माया होइन । मायासँग सन्तान हुन्छन् । सेक्ससँग गर्भपतन मात्र ।
यदि तपाईले राजनीतिलाई माया गर्नुहुन्थ्यो भने के हुन्थ्यो होला ?–
कुर्सी, पद, मान सम्मान र त्यसको रापको लोभ हुने थिएन । आफू निर्वाचित भएको क्षेत्रमा विकासका हराभरा काम हुने थिए । आफ्ना क्षेत्रका जनतालाई सुखानुभूति गराउने हर प्रकारका काम गर्नु हुने थियो । तिर्खाएका मानिसले पानी पाउने थिए, घस्रीरहेका अपांगले ह्विलचेयर पाउने थिए । रोगीले अस्पताल र औषधि पाउने थिए ।
अझ जोडौं–
शिक्षा नपाएकाले विद्यालय पाउने थिए । गरिबले धनको बाटो देख्ने थिए । बेरोजगारले रोजगारी पाउने थिए । कृषकले सपना बनाएर बसेको चौपाया पाउने थिए । खेतीबारी गर्नेले मल, विउबिजन पाउने थिए । वैज्ञानिकले प्रयोगशाला पाउने थिए । खेलाडीले मैदान र खेल पाउने थिए । रुमल्लिएकाले गन्तब्य पाउने थिए । बृद्धाश्रममा बसेका बाबुआमाले घर पाउने थिए । निसन्तानले सेवा गर्ने सन्तान पाउने थिए ।
अझ भनौं–
लेखकले सुयोगान्त विषय पाउने थियो । सुरक्षाकर्मीले गोली खर्च गर्न पर्ने थिएन । महावीर पुनहरूले विदेशीएका आफन्तसँग ऋण माग्नु पर्ने थिएन । बैंकहरू मात्र नाफामा जाने थिएनन्, समूह बचत र ऋण सहज हुने थिए । पैसा होइन तपाईको क्षेत्रमा माया बाँडिन्थ्यो । बुलेटका ठाउँमा तपाईको हातमा कोरा कागज र जनताका धनीपुर्जा हुने थिए ।
यदि तपाईले राजनीतिलाई माया गरेको भए तपाईको सन्तानको आँखामा अहंकार होइन, माया हुन्थ्यो । तपाईकी श्रीमतिको अभिमान होइन, स्वाभिमान हुने थियो । तपाईलाई अगाडि चाकरी गरी पछाडी कुरा काट्ने होइन, पछाडी गुणगान गाएर अगाडि समाधान गर्नुपर्ने विषयका प्रश्न आउने थिए ।
धेरै–धेरै छन् । यी लहरमा आम मानिसले समाजका सबै समाधानका उपाय थप्न सक्नेछन् ।
यो कुनै अमुक नेताका लागि होइन, हर जनप्रतिनिधिका रुपमा जिम्मेवारी बोकेर गैर जिम्मेवार बनेकाहरूमात्र होइन, राजनीतिलाई माया नगर्ने तर सेक्स गर्न रुचाउने लहडले लागेकाहरूका लागि पनि हो । छिर्दा सपनाका र आशाका पोका पन्त्यौरा लैजाने र निस्केपछि पोका न पन्त्यौरा भन्नेहरूका लागि हो ।
तपाईको राजनीतिले माया सिकाएन बरु ठाउँ–ठाउँमा सुरक्षित गर्भपतन गराउने प्राधिकार दियो । यो, तपाईले राजनीतिमा जे गरिरहनु भएको छ, त्यसैको उपज हो
तपाईले राजनीतिलाई सेक्समात्र गरेका कारणले के भयो ?
यो भन्नुपर्ने चिज नै होइन । अहिलेको अवस्थिति र समाजका हरेक संरचना, दैनिक देखिने घटनाक्रमले प्रष्ट बनाएको छैन र ? जनताको अवस्थिति, राज्यको क्रयशक्तिको परिणाम हेर्दा हुन्न र ? हर नेपालीको थाप्लामा भुनभुनाएको विदेशीको ऋणले जवाफ दिँदैन र ?
मानिसका हरेक अपेक्षा र हुनसक्ने कामको पतन गराउने को हो ? कसले लिन्छ जिम्मेवारी ? तपाई जो राजनीतिक गर्नुहुन्छ, त्यसले लिन पर्दैन ? तपाईको मज्जा, तपाईकै गर्भपतन अपजस पनि तपाईकै ।
ताप्लेजुङको ओलाङचुङ गोलामा जन्मिएर विश्वमा कर्मशील नाम लेखाउन सक्ने सन्दुक रुइतको जन्म हुन सक्ने, तपाईको राजनीतिले नेल्सन मन्डेला किन हुन नसक्ने ? यावत प्रश्न छन् । यो भइरहनेछन् ।
तपाईको राजनीतिले माया सिकाएन बरु ठाउँ–ठाउँमा सुरक्षित गर्भपतन गराउने प्राधिकार दियो । यो, तपाईले राजनीतिमा जे गरिरहनु भएको छ, त्यसैको उपज हो ।
परिप्रेक्ष्यलाई विश्लेषण गरौं ।
एक त असल राजनीतिज्ञ भेट्टाउन मुस्किल भयो । शान्ति स्थापना होला र मुलुकमा राजनीतिक स्थायीत्वले विकासका साधारण काम हुँदा पनि राहत होला भन्ने अवस्था बनेन । जालझेल, भौतिक सुख र यस्तै यस्तै गतिविधि सुनेर मानिस रनभुल्लमा पारिन थाले । भर्चुअल विश्व सक्रिय भयो, मान्छे त्यतै हराउन थाले ।
जापान किन विकास भयो ? किन उसको अर्थतन्त्र गिर्दा पनि उठ्छ भन्ने विषयमा व्यवाहारिक पक्ष हेरिएन । बस, जापान हेरियो । जापानमा व्यवस्थाले फरक पारेको छैन । त्यहाँको राजनीतिले सीप, कर्म र लगनशीलता सिकायो, प्रतिफल लिन र दिने लय सिकायो । राजनीतिज्ञ बन्न रुचाउने कम छन् जति बनेका छन् तिनले राजनीतिलाई माया गरेका छन् । अपनत्व लिएका छन् ।
तर नेपालमा के हुँदैछ, के हुन्छ –
राजनीतिमा ‘कास्टिङ काउच’को कथा सँधै नेपथ्यमा हुन्छन् । यी यस्ता हतियारका रुपमा उपयोग गरिन्छ, विरोधीहरूको सेखी झार्न मात्र काम लाग्छन् । राजनीतिज्ञले मिडियामार्फत यी हतियारलाई अन्तिम अस्त्रका रुपमा प्रयोग गर्छन् । यो हतियारबाट घाइते भए मध्येका साधारण पात्र हुन्– कृष्णबहादुर महरा । सन्दर्भ सामग्री अरु पनि छन् । तर, महरा प्रकरणले ठूलै मोल चुकाउनुपरेको थियो र यहि राखियो ।
समाजवाद, साम्यवाद या अरु अरु वाद । यी ‘वाद’लाई एकातिर थन्क्याऔं । सबैभन्दा ठूलो कुरा आचरणवाद हो । तपाई हर राजनीतिज्ञको आचरणको व्याख्या गर्दा त्यसमा कुनै सैद्धान्तिक ‘वाद’ भेटिन्छ ? त्यहाँ त नातावाद, कृपावाद, नगदवाद, अवसरवाद मात्र भेटिन्छ ।
तीन करोड नेपाली जनता बसेको समाज विविध विषयमा विभाजित छन् । त्यो समाजको विविधतालाई विभेदीकरण गरी त्यसैमार्फत गरिएको स्वार्थवाद राजनीति होइन । समानताको विषयलाई मुद्दा बनाएर सत्ताको रस चुस्ने कामलाई राजनीति भनिन्न । त्यो खास अर्थमा दलालीकरण हो । राष्ट्रिय पुँजी, नेपाली जनताको खुन पसिनाको पुँजीमा दलालीकरण गरी नीहित स्वार्थका लागि चढेका खुड्कीला, बसेका कुर्सीहरू राजनीतिका उपज होइनन् । ति त सिधा सिधा ‘हबस’ हुन् । त्यहि अवसर पाए न पाएको निहुँमा देखिने घटनाक्रमलाई हामी पनि राजनीति भनिरहेका छौं । त्यस घटनाक्रमका ‘खलनायक’हरूलाई राजनीतिज्ञ भनिरहेका छौं ।
जसले मुलुकको स्वाभिमानमा जनताको श्रीवृद्धि अनिवार्य ठान्दैन त्यो देशभक्त होइन, जो देशभक्त होइन त्यो राजनीतिलाई माया गर्ने विज्ञ होइन । मायाले बनाउँछ संसार । सन्तान । त्यसले जिम्मेवारी बोध गराउँछ । तर नेपाली राजनीतिमा जसलाई माया भनेर देखाउने कोशीश गरिएको छ त्यो सेक्स मात्र हो, त्यसैले हरेक पटक गर्भपतन भइरहेको छ, सपनाहरूको, अपेक्षाहरूको । त्यसको मजा लुट्नेका अनुहारमा चमक हुन सक्लान् तर सपनाका भारी बोकेका जनताका अनुहारमा रुन्चे हाँसो भन्दा केही छैन । हामी त्यसैलाई भनिरहेका छौं– कुशल गणतन्त्र, समृद्ध नेपाल अनि सुखी नेपाली ।















प्रतिक्रिया