
-गणेश थापा
क्यालिफोर्निया, १८ वैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या संयुक्त राज्य अमेरिकामा मात्रै ६१ हजार नाघेको छ । संक्रमितको संख्या समेत बढेर साढे १० लाख माथि पुगेको छ । पाँच दिनको अवधिमा ११ हजार बढी मानिसको ज्यान गएको छ । यद्यपि अघिल्लो हप्ताको तुलनामा भने मृतक तथा संक्रमितहरूको संख्यामा केही कमी आएको तथ्यांकले देखाएको छ ।
प्रारम्भबाटै नोबल कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटाअपडेट गर्दै आइरहेको न्युज ब्रेकका अनुसार कोभिड–१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित अमेरिकामा स्थानीय समयअनुसार बुधबार अपरान्हसम्ममा ६१ हजार ४ सय जनाको मृत्यु भएको छ भने संक्रमित व्यक्तिहरूको संख्या १० लाख ६२ हजार माथि पुगेको छ ।
प्राप्त तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा मात्रै करीव २३ हजार ५ सयको मृत्यु भएको छ भने ३ लाख ६ हजार बढी मानिस संक्रमित भएका छन् ।
न्यूयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ । अहिलेसम्म १५ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहाँका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् । मृत्यु हुनेहरूमा न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्निनियामा १ जना रहेको बताइएको छ ।
यसैबीच विगत एक दशकदेखि भर्जिनियामा बस्दै आइरहेका ललितपुर कुपण्डोलका फ्रेण्ड्स क्लबका पूर्वफुटबल खेलाडी महेश पन्थीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु भएका नेपालीहरूको शव व्यवस्थापन तथा शोकाकुल परिवारको आवश्यक सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत क्रियाशील नेपाली संघसंस्था सक्रिय देखिएका छन् ।
यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृतकको संख्या एक हजार ९ सय नाघेको छ भने ४८ हजार बढी मानिसमा संक्रमण देखिएको छ । दिनहुँ २ हजार माथिको संख्यामा मानिसहरूको मृत्यु भइरहेको अमेरिकामा २४ घण्टा नपुग्दै २ हजार ४ यस बढी संक्रमितको ज्यान गएको छ । यस अवधिमा २६ हजार बढी नयाँ संक्रमित विरामी थपिएका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै २ लाख २८ हजार मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ३२ लाख नाघेको छ ।
यहाँ प्रत्येक दिन झण्डै ३० हजारको हाराहारीमा कोरोना भाइरसका नया‘ संक्रमित बिरामीहरू थपिरहेका छन् । संक्रमण बढेसँगै स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड–१९ को संक्रमणका कारण दुई लाख बढीको मृत्यु हुनसक्ने भन्दै मानिसहरूलाई सचेत गराउँदै आएका छन् । उनीहरूले यस भाइरसको संक्रमण दसौं लाख मानिसमा फैलिन सक्ने चिन्ता समेत व्यक्त गरिरहेका छन् ।
विदेशमा रहेका नेपालीहरू मध्ये कोरोना भाइरस संक्रमितको संख्या अमेरिकामा सवैभन्दा बढी रहेको छ । यहाँ मात्रै संक्रमित नेपालीहरूको संख्या १ हजार माथि रहेको बताइएको छ ।
विश्व महाशक्ति संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड–१९ सँगको आन्तरिक लडाइमा छ । कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्न सक्ने विज्ञहरूले भनाइ रहदैआएको छ ।
यता अमेरिकाको नागरिकता नपाउँदै आफूलाई अमेरिकन नागरिक भनी ढाँटेर गलत मनसायले ऋण तथा अन्य कुनै पनि सुविधा प्राप्त गर्नका लागि रोजगारदाता फारमदेखि अरू कुनै पनि प्रकारका फारम भर्दा झुट्टा विवरण उल्लेख गर्ने ग्रिनकार्ड वाहक, ग्रिनकार्ड प्राप्त गर्ने लाइनमा रहेका मात्रै नभएर कुनै पनि हिसाबले अमेरिकामा बसिरहेकाहरूलाई देश निकाला गर्ने तथा आफ्नो देश प्रवेशमा स्थायी रूपमा प्रतिबन्ध लगाउने नयाँ नीति अमेरिकी सरकारले लिएको छ ।
यसैगरी ग्रिनकार्ड, डिभि कार्यक्रम लगायत केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू समेत केही समयका लागि स्थगित गरिएका छन् । यस नीतिबाट केही संख्यामा नेपालीहरू समेत प्रभावित हुन सक्ने सरोकारवालाहरूको बुझाइरहेको छ ।















प्रतिक्रिया