३ कार्तिक २०८३, मंगलबार

नेकपामा विवाद उस्तै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ।

पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचिवालय बैठक तय भएको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘दुई अध्यक्षबीच छलफलपछि बुधबार सचिवालय बैठक बोलाउने तय भएको छ’, वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘अब सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने विषयमा छलफल केन्द्रित गर्छ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा यो विवाद ‘भुसको आगोझैं’ सल्किएको छ। प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिए पनि त्यसले सल्काएको आगो अझै निभ्न सकेको छैन।

यो प्रकरणले पार्टी बदनाम, सरकार अलोकप्रिय भएको भन्दै नेकपाभित्र प्रधानमन्त्री ओलीको चर्काे आलोचना भइरहेको छ। पार्टीभित्र देखिँदै आएको त्रिपक्षीय शक्ति सन्तुलनमा अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता अर्काेतिर देखिएका छन्।

पार्टीभित्र यस प्रकरणको गम्भीर समीक्षा गर्दै ओलीले पार्टी र सरकारबाट निकास दिनुपर्ने भन्दै दाहाल–नेपाल पक्षका नेताले बैठक माग गरेपछि ओली आफ्नो प्रतिरक्षा र बैठक टार्ने मेसोमा लागेका बेला सचिवालय बैठक तय भएको हो।

दाहाल-नेपाल पक्ष स्थायी समिति बैठक बोलाई ओलीको विकल्पसमेत खोज्ने तयारी गरेपछि झगडा उत्कर्षमा पुगेको छ। दाहाल-नेपाल पक्षको समीकरणपछि पार्टी सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिमा पनि ओली अल्पमतमा परेका छन्। त्यसपछि उनी संकट टार्न अनेक प्रयासमा लागेका थिए।

उनले मंगलबार बैठक बोलाउने विषयकेन्द्रित छलफलका लागि अध्यक्ष दाहाललाई बालुवाटार बोलाएका थिए। त्यहाँ छलफल गरे पनि दुवै पक्ष अडानमै देखिएका छन्।

‘अध्यादेश प्रकरणपछि पार्टीभित्र उत्पन्न समस्याका विषयमा केन्द्रित रहेर नेताबीच आपसी छलफल/बहसहरू भइरहेका छन्। अहिलेको छलफल/बहसले निष्कर्ष दिँदैन। पार्टीका कमिटी बैठकबाटै निचोड हुन्छ भन्ने गरी छलफल हुनेछ’, दाहालका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले भने, ‘सिंगो देश एकातिर तर नेकपा र सरकार अर्काेतिर जस्तो देखापरेको छ। मंगलबारको छलफलमा प्रधानमन्त्री आफ्नै अडानमा हुनुहुन्छ, अध्यक्ष प्रचण्ड (दाहाल) र माधव नेपाल कमरेड आफ्नै अडानमा हुनुहुन्छ।’ रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।