काठमाडाैं, १५ वैशाख । डा. सुरेन्द्र यादवले अपहरण तथा शरीर बन्धकको अभियोगमा सांसदहरू महेश बस्नेत, किसन भनिने कृष्णकुमार श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिन खोजेका छन् । तीनमध्ये दुईजना सांसद अर्थात् सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले साढे २४ वर्षसम्म कैद सजायको माग गरिएको छ ।
डा. यादवले ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १७ को दफा २११ को १,२, को (क)(ख), २१२(१),(२) (३) र २१३, २१४(१)(२)(३), २१५, २१७ बमोजिम क्षतिपूर्तिसमेत भराई शरीर बन्धक लिई अपहरणको कसुर गरेकोले निजहरूलाई हदैसम्मको कानुनी कारबाहीसमेत गरिपाऊँ,’ भनी किटानी गरेका छन् ।
दफा २१४(१) अनुसारको अपहरणको कसुरमा १० वर्षदेखि १५ वर्षसम्म कैद र एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावाधान छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५०% कैद थप हुने प्रावधान भएकाले दुई सांसदका लागि यो प्रावधान आकर्षित हुन्छ । दफा २१४ कै उपदफा ३ मा संगठित रूपमा कसुर गरेमा थप दुई वर्ष कैद सजाय हुने व्यवस्था छ । जसअनुसार सांसदलाई साढे २४ वर्ष तथा पूर्वआइजिपी १७ वर्षसम्म कैद सजाय माग गरी जाहेरी दिइएको छ ।
दफा २११ (क) भन्छ : कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिनेछ ।
दफा २१३ भन्छ : प्रचलित कानुनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यसबाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि पचास हजार रुपैयाँँसम्म जरिवाना हुनेछ ।
दफा २१४ भन्छ : थप सजाय हुनेः (१) दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँंसम्म जरिवाना हुनेछ ।
(२) कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस संहिता वा कानुनबमोजिम कसुर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसुरबापतको सजायमा उपदफा (१) बमोजिमको सजाय थप हुनेछ । नवराज मैनालीले नयाँ पत्रिका दैनिकमा सामाचार छापेकाे छ ।















प्रतिक्रिया