१४ वर्ष अगाडि सन् २००६ मा जब मेरो बुवाआमा बेलायत भ्रमणको क्रममा हुनुहुन्थ्यो, फुर्सदको समयमा जब हामी स–परिवार कुराकानी गर्दै थियौँ । पारिवारिक कुरा चल्दै जाँदा मेरो आमाले अनायासै भन्नु भो, ‘बाबु, मेरो एउटा इच्छा तिमीलाई भन्ने नपाइ त्यत्तिकै तुहियो, १ वर्ष अगाडि नै मैले त्यो इच्छा तिमीलाई सुनाउन सकेको भए !’
मेरो आमा कुनैपनि कुरा निकै सोँच विचारेर मात्रै भन्ने गर्नुहुन्छ । कसैलाई केही कुराभन्दा त्यसको असर एकदम बिचार गर्नुहुन्छ । सकेसम्म कसैलाई पनि दुखाउन नचाहने मेरी आमाको इच्छा सुन्न अधीर थिए, तब सोधे, ‘कुन इच्छा आमा ?’ जब आमा बोल्दै जानु भो, तब मैले टेकेको धर्ती भासिदै गएको अनुभूति भयो । आमाले भन्दै जानु भयो, ‘बाबु, अब भनेर त के हुन्छ र ? तैपनि भन्न मन लाग्यो, जब तिमी डीएसपी भएर जिल्ला प्रहरी कार्यालयको इन्चार्जको रुपमा पाँचथर पोस्टिङ भएका थियौँ, बुवा र मैले सोँचेका थियौँ, हामी पनि अब बुढाबुढी भयौँ, त्यसैले छोरा जहाँ जहाँ पोस्टिङ भएर जान्छ हामी पनि संगसंगै गएर तिमीसंगै समय बिताउने सोँचेका थियौँ, तर तिमीले एक्कासि राजीनामा दिएर बेलायत आयौँ ।’
उहाँको ती शब्दहरू मेरा लागि ‘शब्द बम’ बनेर पड्किरहेथ्यो, जसबाट म मर्माहत थिए, तर मसंग बचाउँको लागि कुनै जवाफ थिएन, पक्क परेर आमाको अनुहार हेरिरहे । धेरै संघर्ष गरेर आफ्ना सन्तानलाई बढाउनु अनि पढाउनु अनि आफ्नो खुट्टामा उभ्याउनु भएकी आमाको मुखबाट ती शब्दहरू सुन्नु पर्दा म बिचार शून्य सन्न भएको थिए । मसंग कुनै जवाफ थिएन, आमाको मुख हेरे, उहाँ शून्य भावमा मन्द मुस्कानसहित एकटकले मलाई हेरिरहनु भएथ्यो ।
मैले ती दिन र क्षण सम्झिए, माओवादी द्वन्द्व समाधानको अन्तिम क्षण (बिस २०६२ साल) तिर पुग्दै थियो, जब मैले नेपाल प्रहरीका आइजीपीसंगको भेटमा उहाँसंग आफ्नो गुनासो राख्दै राजीनामा दिएको थिए । तर राजीनामा दिएर आएको दोश्रो दिनसम्म पनि घरमा बुवाआमालाई यसको जानकारी थिएन । मेरो राजीनामाको कुरा सुनेर मेरो शुभचिन्तक तत्कालीन २ एआइजीपीहरू राजेन्द्रबहादुर सिंह र अमरसिंह शाहले मेरो राजीनामा रोक्न सम्झाउनको लागि मलाई घरमा बोलाउन टुन्डालदेवी सामुदायिक प्रहरीका प्रहरीहरू आइपुगे, तैपनि उहाँहरू (मेरो बुवाआमा)ले अनुमान गरिसक्नु भएको थिएन ।
किनकि उहाँहरूलाई थाहा थियो, नेपाल प्रहरीको जागिर मलाई कति प्रिय छ । उहाहरूले किन पनि अनुमान गर्न सक्नु भएन भने, म आफू खटिएको ठाउँ जाने तयारीमै थिए, जब म त्यस बिहान कार्यक्षेत्रमा जान बिदाइ भेटको लागि आइजीपी श्यामभक्त थापालाई भेट्न उहाँको सरकारी निवास पुगे, घण्टौ कुरिरहेका अन्य प्रहरी कर्मचारीका बीचमा बेपर्वाह उहाँ आफ्नै किसिमले बेलाबखत निवासको छतमा परेवालाई आनन्दित भएर चारा छर्दै हुनुहुन्थ्यो । तल पटाङ्गिनीमा परेवा भुर्र उड्दा निस्किने आवाजसंग आइजीपी आएको भानमा सतर्कमा उभिन्थे र फेरि यथास्थानमा रहन्थे, जुन क्रम लामो समयदेखि जारी थियो ।
सबैको अनुहारमा दिक्क लाग्दो भाव देखिन्थ्यो । जब उहाँ हामीलाई भेट दिन तल आइपुग्नु भयो, मैले आफ्नो पालोमा सबैको अगाडि आफ्नो कुरा राखे, बढुवामा गरेका पक्षपातदेखि कार्य मूल्यांकनसम्ममा कुराहरू थिए, उहाँले जवाफ दिदै गर्नुहुँदा मैले अलिक गुनासोकै भावमा प्रश्न उठाए, उहाँ छक्क परेर मलाइ हेरिरहनु भो (किनकी मातहतका अधिकृतले प्रहरी प्रमुखलाई यति प्रश्न सोध्नु अस्वाभाविक मानिन्थ्यो), मात्रै उहाँले ‘तिमी जस्तो धेरै छ’ भन्नु भो, मलाइ भाउन्न भएर आयो सहन सकिन, तब मैले ‘प्रधान सेनापतिको संगै आउँदा सेनाको गणमा बस्ने तर १ किलोमिटर टाढा रहेको आफ्नै जिल्ला प्रहरी कार्यालयमा आफ्नो प्रमुखलाई कुरेर बसेका सिपाही भेट्न जान नसक्ने हाकिमले हाम्रो समस्या के बुझ्ला र ?’ भनेर प्वाक्क भनिदिए ।
भएको के थियो भने जब उहाँ द्वन्द्वकालमा तत्कालिन प्रधान सेनापति प्यारजंग थापासंगै नेपाली सेनाको हेलिकप्टरमा लमजुंग आउनु भो, सेनाको ब्यारेक नजिक रहेको आफ्नो प्रहरीको युनिटमा समेत नआइ फर्कनु भएको कुरा मैले बेप्रसंग उठाइदिए । तब उहाँलाई निवासमा भेट्न आएका अरु सिनियर अफिसरले मलाई ए शिव, आइजीपी सा’बलाई के भनेको त्यस्तो ? भनेर रोक्न खोजे, तर म दृढ थिए, उल्टै मैले ती सिनियर अफिसरलाइ म आइजीपी सा’बसंग कुरा गर्दैछु, तपाइँ किन बीचमा ? भनेपछि सबै चुप रहे, म एकोहोरो बोलिरहे, आइजीपी सा’ब पनि वरपर हिड्दै चुप रहनु भो, निवासमा सतर्कता बढ्न थाल्यो, मैले स्थिति बुझे, तब मैले ‘अब म राजीनामा दिन्छु’ भनेर आइजीपी सा’बलाई सुनाए । उहाँ बोल्नु भएन । एकछिनमा तत्कालीन १ नम्बर गणपति (एसपी) उपेन्द्रकान्त अर्याल (पछि आइजीपी हुनुभयो) आइपुग्नुभयो, अनुमान गरे ।
तब सिधै निस्किएर हेडक्वार्टर छिरेर प्रशासन शाखामा गएर राजीनामा दिन नेपाली कागज मागे तर आफ्नै चेला दीपक थापा (हाल एसएसपी) र पवन गिरी थिए, उहाँहरूले त्यसरी तातो रिस गरेर हजुर जस्तो अफिसरले राजीनामा दिनु हुँदैन सर भन्न थाले, तर मैले अनुरोध गर्दै राजीनामा लेखेर चुपचाप हेडक्वार्टरबाट घर लागे । घरमा बुवाआमा मेरै पर्खाइमा हुनुहुन्थ्यो । मैले बिहान भएको कुनै घटनाहरू सुनाइन, किनकी ती कुनै पनि योजनाबद्ध तवरले भएको थिएन, त्यसैले म कसरी सुनाउने ? भनेर सोंचमग्न भइरहे । यसबीचमा मेरो अप्रत्याशित राजीनामा चित्त नबुझेर मेरा शुभचिन्तक सिनियरहरू मलाई सम्झाउनतिर लाग्दै गर्दा म अब राजीनामा स्वीकृत गराएर बेलायतमा रहेका परिवारसंग बस्ने कुरामा दृढ भइसकेको थिए, तब मैले बुवाआमालाई घुमाउरो तवरले मेरो राजीनामाको कुरा राखे, बुवाले मेरो कुरा सुन्नै चाहनु भएन, दाईदिदी, भाईबहिनीहरूले पनि मलाई धेरै सम्झाउन खोजे ।
तर मेरो आमा भने केही बोल्नु नै भएन, पिलिक पिलिक मेरो अनुहार मात्रै हेर्दै आफ्नो गाला मसार्नु थाल्नुभयो । अझैपनि त्यो पल सम्झन्छु, मेरो आमाले अब के भन्नुहोला ? अनि आमाले रोक्न खोज्नु भयो भने ? म के जवाफ दिने हुँला ? किनकी मलाई मेरो आमाको कुरा काट्न जहिलेपनि हम्मेहम्मे पर्छ त्यसैले म मनमनै छटपटि रहेको थिए । तर आमा चुप बसिदिनु भएकोले मलाई ठूलो राहत अनुभूति भइरहेथ्यो अनि आमाको मौनतालाई मैले मेरो कदमप्रतिको मौन समर्थन नै सम्झिए, तब मलाई कसले रोक्न सक्ने ? बुवाले बाबु, यति राम्रो जागिर नछाड भनेर सम्झाउन छाड्नु भएन, तर आमाले केही बोल्नु भएन ।
मैले मेरो प्रहरीको जागिरको पहिलो कमाइ (तलब) एक रुपियाँ पनि नमासी जस्ताको तस्तै आमाको खुट्टामा ढोगेर भेटी चढाउँदै प्रहरी जीवन शुरु गरेको थिए, जसलाई मैले अब राजीनामा दिएर टुङ्ग्याउदै थिए । जुन मेरो जीवनको एउटा ठूलो र कठिन निर्णय थियो । मेरो यस निर्णयले मेरो परिवारजन मात्र हैन मेरो ब्याचमेट अनि अन्य प्रहरी मित्र र सिनियर अफिसरलाई पनि आश्चर्य पारेको थियो, जसले मेरो भबिष्य प्रहरीभित्र उज्वल देखेका थिए ।
जे होस्, मेरो राजीनामाप्रति मेरो आमाको मौनतामा नै मैले जागिर अनि देश छाडेर परदेसिए मनभरि जन्मथलो, जन्मदाता अनि मन परेको नेपाल प्रहरीप्रतिको माया लिएर । त्यो क्षण मेरो लागि बडो पीडादायी थियो । लगत्तै माओवादी समस्या समाधान भयो । बुवाआमाको बेलायत भ्रमण भयो । त्यही बेलादेखि नै मेरो प्रत्येक दिनको शुरुवात बुवाआमासंग फोनमा कुरा गर्दै हुन्छ । कुनैपनि दिन मैले फोन गरिन भने, बुवाआमाबाट सोधखोज शुरु हुन्छ । बेलाबेलामा बुवाले मैले प्रहरी जागिर छाडेको कुरामा अझैपनि आमासंग गुनासो सहित थकथकी मान्नु हुँदोरहेछ, विषेशगरी मेरो ब्याचको बढुवा भएको तत्क्षणमा । आमालाई पनि त्यस्तै लाग्दो हो, तर कहिल्यै भन्नुहुन्न ।
अहिले कोरोना भाइरसको बढ्दो प्रकोपसंगै संसारभर लकडाउन भइरहेको छ, आमाबुवालाई प्रत्येक दिन मेरो अनुहार हेर्दै कुराकानी नगरेसम्म शान्ति मिल्दैन, फोनमा भिडियो कल गर्दै गरेको क्षणमाबुवाको अनुहारमा देखिने कान्ति सहजै अनुमान गर्न सक्छु । जीवनको उत्तराद्धमा पुग्नु भएका यो क्षणमा पनि बुवाआमाबाट टाढीएर बस्नुपर्दाको पीडामा आमाले १४ वर्ष अगाडि बेलायत भ्रमणमा रहनुहुँदा तोड्नु भएको त्यो मौनता सम्झन्छु, पीडा महशुस गर्छु अनि जहिल्यै सोच्छु– यदि आमाले त्यो मौनता अघिल्लो बर्ष नै तोडीदिनुभएको भए ?
आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंशी । बुवाआमाबाट धेरै टाढा बिरानो मुलुकमा बसेर यस्तो पवित्र दिनमा पनि सदा झैँ फोनबाट नै आमाबुवाको मुख हेरेर चित्त बुझाउनु पर्दा बेलाबखत बडो चित्त कुढीएर आउछ, अनि आमालाई सोध्न मन लगेर आउँछ ‘आमा, त्यो बेलायतमा तोड्नु भएको मौनता नेपालमा हुँदा नै तोडिदिनुभएको भए ?’ सायद मेरो यात्राले अर्कै बाटो समात्न सक्थ्यो ।
आजको यस पवित्र दिनमा मेरो आमा लगायत सम्पूर्ण आमाहरूको दीर्घायु, सुस्वास्थ्य, सुख समृद्धिको कामना ।
















प्रतिक्रिया