सिड्नी, अष्ट्रेलिया । अहिलेसम्म भएका महिलाविरुद्धका विभेद र हिंसाको जिम्मा प्रधानमन्त्री सुशील कोइरालाले लिनुपर्ने अष्ट्रेलियाका प्रवासी नेपाली महिलाहरुले माग गरेका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघको नारी फोरम नारी निकुञ्जद्धारा
महिला महिलाविरुद्धको हिंसा अन्त्यका लागि आयोजित हाम्रो अभियान नामक अन्तरक्रियामा अष्ट्रेलियामा बसोबास गर्दै नेपाली मुलका महिलाहरुले अहिलेसम्म भएका महिलाविरुद्धका विभेद र हिंसाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने माग गरेका हुन् ।
एसफिल्डस्थित कम्युनिटी क्याथोलिक क्लबमा आयोजित अन्तरक्रियामा संस्थाले सो मागलाई अष्ट्रेलियाका राजदूतमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र पठाएका छन् ।
अहिलेसम्म भएका महिलाविरुद्धका विभेद र हिंसाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
राज्यको कार्यकारी प्रमुखका हैसियतले यस्तो जिम्मा लिँदै विभेद अन्त्यको नेतृत्व लिन प्रधानमन्त्रीलाई आह्वान गरिएको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रियामा सन्ध्या शाह र प्रतिज्ञा अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
राधिका बानियाँले नेपालमा महिलाहरुको वर्तमान स्थिति विषयमा जानकारी गराउनुभएको थियो । कार्यपत्रमाथि अधिवक्ता शमशेर थापा र पत्रकार सुजित सिग्देलले टिप्पणी गर्नुभएको थियो ।
सोलिसिटर ऋचा रजौरियाले महिलाविरुद्धको हिंसाका विषयमा अष्ट्रेलियाको कानूनका प्रावधान जानकारी दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपालका राजदूत रुद्रकुमार नेपालले नारी निकुञ्जले प्रस्तुत गरेको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।
यस्तै न्यू साउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन संरक्षक ईन्द्रा बनले महिलाविरुद्धको हिंसा अन्त्यका लागि कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा जुनसुकै धर्ममा पनि महिलाहरुलाई दोस्रो दर्जा नै दिइएको भन्दै परम्परागत र व्यवहारगत पक्षहरुको चर्चा सञ्जीव पाण्डेले गर्नुभएको थियो ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले नारी निकुञ्जको सक्रियता प्रशंसायोग्य भएको भन्दै नेपालमा चेतना अभिबृद्धि गर्ने खालका योजनामा हातेमालो गरी अघि बढ्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमकी सभाध्यक्ष एवं नारी निकुञ्ज अष्ट्रेलियाकी सचिव सिर्जना संग्रौलाले जुनसुकै मुलुकमा बसेपनि नेपालमा भइरहेका विविध घटनाहरुका बारेमा हामी पनि चासोपूर्ण नजरले हेरिरहेको जानकारी दिनुभयो ।
















प्रतिक्रिया