३ कार्तिक २०८३, मंगलबार

अध्यादेश पारितपछि के भयो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ वैशाख । दुई अध्यादेशमध्ये राजनीतिक दलसम्बन्धीले सोमबार अपराह्न राजनीतिक दलभित्र हलचल पैदा गरिदियो। त्यसमा पनि सत्तारुढ दल नेकपाभित्र ठूलै खैलाबैला मच्चाएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई भयभीत बनाइदिएको छ।

ओली पक्षका नेताले अध्यादेश नेकपाभित्र नभई अन्य पार्टीलक्षित भएको भन्दै प्रधानमन्त्रीको बचाउ गरेका थिए। ओलीइतर समूहका नेतामा भने यसले संसय पैदा गरायो। उनीहरूले आशंकाका दृष्टिले हेरेका छन्। मन्त्रिपरिषद्को निर्णयपछि कृषिमन्त्री भुसाल, ऊर्जामन्त्री पुन र वनमन्त्री शक्ति बस्नेतले छुट्टै छलफल गरेका थिए।

ऊर्जामन्त्री पुनको मन्त्रालयमा पूर्वामाओवादी पक्षका मन्त्रीहरुको छलफल भएको थियो। त्यसमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएनन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पूर्वमाओवादी धारका मन्त्रीहरूको बैठक बसिरहँदा गृहमन्त्री थापा भने बालुवाटारमै प्रधानमन्त्रीसँग छलफलमा थिए।

थापालाई प्रधानमन्त्रीले केही छलफल गर्नु छ भनी बालुवाटारमै रोकेका थिए। माओवादी धारका मन्त्रीहरूसँगको छलफलपछि ऊर्जामन्त्री पुन र वनमन्त्री बस्नेत भने मन्त्रिपरिषद् बैठकको विषयमा ब्रिफिङ गर्न अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका थिए। दाहालले भने दल त्यागसम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारीबारे पहिल्यै जानकारी पाइसकेका थिए। उनले तत्काल यसरी ल्याउलान् भन्ने सोचेका भने थिएनन्।

त्यसपछि उनले प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गरे। दाहालनिकट एक नेताका अनुसार ओलीले छलफलका लागि उनलाई बालुवाटार आउन भनेका थिए। दाहालले भने पार्टी सचिवालयमै छलफल गरौं भनेपछि नेकपाको आकस्मिक सचिवालय बैठक बसेको थियो। विकसित घटनाक्रमबारे दाहालले आफूनिकट नेतासँग छलफल गर्न चाहेका छन्। त्यसका लागि उनले सचिवालय बैठकपछि छलफल गर्ने भन्दै आफूनिकट स्थायी समिति सदस्यलाई तयारी अवस्थामा बस्न भनेका थिए।

त्यसो त उनले पार्टीभित्र विकसित घटनाक्रमलाई ध्यान दिँदै आइतबार नै आफ्ना पक्षका नेतालाई उपत्यकाबाहिर नजान र बाहिर रहेकालाई पनि काठमाडौं आउन आग्रह गरिसकेका थिए। सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली बेलुकी राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए। पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरुबीच छलफल भएको जानकारी दिइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।