८ मंसिर २०८३, मंगलबार

कोरोनाको सामान्य लक्षण देखिदैन, ८० प्रतिशतमा परीक्षणपछि देखिन सक्छः डा.राजभण्डारी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोना भाइरसको संक्रमणका लक्षण धेरैमा नदेखिने भएकाले परीक्षणको प्रभावकारितामा सरकारले विशेष ध्यान दिन आवस्यक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.राजभण्डारीले सामान्य लक्षण नै नदेखिएका ८० प्रतिशत मानिसमा संक्रमण भेटिन सक्ने भएकाले परीक्षणलाई बढाउन आवस्यक रहेको बताए ।

डा.राजभण्डारीले अहिले परीक्षणका विभिन्न विधिहरू विकसित भइसकेको भन्दै यस्ता प्रविधिलाई सरकारले चाँडो नभित्राए समस्या बढेर जाने बताए । उनले शुरुमै विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्न नसक्दा समस्या बढेको बताए ।

शुरुमा चिकित्सकहरूको सुझावलाई सरकारले नटेरेको र लकडाउन गर्न पनि ढिला भएको भन्दै डा.राजभण्डारीले उपत्यकामा सोमबार भेटिएका व्यक्ति बेलायतबाट आएका र उनीहरूको आजको परीक्षणबाट मात्रै अपार्टमेन्टमा रहेका अरुको अवस्था थाहा हुने बताए ।

डा.राजभण्डारीले सरकारले औषधिसहितका स्वास्थ्य सामग्री ल्याउन नसक्दा अझै पनि धेरै टेष्टहरूका प्रविधिहरू आउन नसकेको बताए । उनले काठमाडौंमा पनि यस्ता संक्रमितको संख्या बढ्न सक्ने उनले चेतावनी दिएका छन् ।

‘परीक्षणको दायरा बढाउन अझै आवस्यक छ’, डा.राजभण्डारीले भने, ‘सबै क्षेत्रमा परीक्षण पुर्‍याउनुपर्छ । हामी सबै सर्तक हुनुपर्‍यो ।’ डा.राजभण्डारीले काठमाडौंको सनसीटी अपार्टमेन्टका सबैको परीक्षण गरिने बताएका छन् ।

८० प्रतिशतमा लक्षण बिनानै कोरोना भाइरसको संक्रमण देखिने भएको भन्दै डा.राजभण्डारीले यसको समस्याको एकिन गर्न नसकिने बताएका छन् ।