घाेराही, २८ चैत । दाङमा वन गस्ती टोलीले लकडाउनको मौका छोपी वन क्षेत्रमा वन पैदावार चोरीमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
वन गस्ती टोलीले लकडाउन अवधिभर भएका विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जनाएको छ ।
यस अवधिमा तीन वटा ट्रयाक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको तथा सयौँ क्यू फिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
दाङका प्रमुख डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले लकडाउन अघि काठ तस्करीका घटनाहरू नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताए ।
यसपटक तस्करी नहुने नयाँ ठाउँमा तस्करी भएको पाइएको उनले बताए । गस्तीका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरू पक्राउ परेको ज्ञवालीको भनाइ छ ।
गस्तीले वनमै रुख ढालेर काठका रुपमा काटिरहेको अवस्थामा तस्करहरुलाई फेला पारेको कार्यालयले जनाएको छ ।
अत्यधिक जोखिमका साथ आठ वटै सब डिभिजन कार्यालय स्तरबाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरबाट पुरै क्षेत्रमा प्रभावकारी रुपमा गस्ती गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
सबैजसो कर्मचारीहरुलाई चरणबद्ध रुपमा रात्री तथा दिवा सिफ्ट बनाएर गस्ती भइरहेको र् वन अपराधमा संलग्नहरूलाई नियन्त्रणमा लिइकानूनी कारबाही अगाडि बढाइएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत ज्ञवालीले जानकारी दिए ।











प्रतिक्रिया