‘थ्याङ्स गड’ स्थानीय व्यापारी दीपक मल्होत्रा र उनका छोरा दिकेश मल्होत्रासहित २२४ यात्रु बोकेर स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज दुर्घटनाबाट बालबाल जोगियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा खराब मौसमका कारण उक्त जहाज फेरि आकाशमा उडेपछि यात्रुहरुको होस् हवास उड्यो । आकाशमा एक फन्को लगाएर फेरि धावनमार्गमा टेक्दाटेक्दै उक्त जहाज अगाडिको पांग्रा चिप्लिएर चौरमा धस्सियो । धन्न ठूलो दुर्घटना भएन । सबै यात्रुहरु सकुशल आपतकालीन ढोकाबाट ओर्लिए । टर्किस एयरलाइन्स धावनमार्गमा अड्किएका कारण चार दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भयो । जमिनमा धसिएको विमान निकाल्ने कुनै पनि यन्त्र विमानस्थलमा नभएकोले चार दिनसम्म अन्तर्राष्ट्रिय उड्यान अवरुद्ध भयो । ४८ हजार यात्रु अलपत्र परे । विभिन्न विमान कम्पनीहरुले करोडौं गुमाए । विश्वभर नेपालको बद्नाम भयो ।
यो नै अन्तिम घटना भने होइन । यस्ता घटनाहरु दोहोरिन नदिन सरकारले समयमै सबै यन्त्र प्रविधिको बन्दोबस्त गर्नुपर्छ । नेपालमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको कारण बेलाबेलामा थुप्रै एयरलाइन्सहरुले समस्या भोग्नुपरेको छ । काठमाडौंका आकाशमा आइसकेको जहाज खराब मौसमका कारण भारतको लखनउ, कलकत्ता र नयाँदिल्ली फर्किनु परेको धेरै उदाहरण छ । सायद काठमाडौंको मौसमका बारे समयमै सूचना पाउन नसकेको कारण काठमाडौंसम्म आएर जहाज फर्किनुपरेको हुनसक्छ । त्यस्तै त्रिभुवन विमानस्थल बढी व्यस्त भएको कारण ल्यान्डिङ गर्न नसकेर आकाशमा एक डेढ घण्टा घुमिरहनु पर्ने अर्को समस्या हो । यस्ता समस्याहरुलाई समयमै सुधार नगरिने हो भने पाइलट र जहाजको कारण होइन, हाम्रै कारण ठूलो दुर्घटना निम्तिन सक्छ ।

टर्किस एयरलाइन्सकै घटनालाई सामान्य रुपमा हेर्ने हो भने, रनवे छेउछाउ (चाउर भएको ठाउँ) पीच अथवा ढलान भैदिएको भए, यो समस्या आउने थिएन । भविष्यमा पनि यस्ता घटना दोहोरिन नदिन पर्याप्त सुधारका कामहरु गर्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारले वर्षमा ३/४ अर्ब रुपैयाँ आम्दानी गरे पनि यात्रुहरुक लागि कुनै सुविधा छैन । शौचालयदेखि ब्यागेज लिने ठाउँसम्म समस्यै समस्या छ । ब्यागेज लिनकै लागि यात्रुहरुले घण्टौं कुर्नुपर्ने बाध्यता छ । ब्यागेज बेल्ट बिग्रदा समेत समयमा मर्मत नगरिदिँदा यात्रुहरुले समस्या भोग्नुपरेको हो । त्यस्तै विभानस्थलमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीहरुको बोली र व्यवहारले पनि धेरैलाई पिरोलेको छ । प्रस्थान कक्षमा ‘वाइफाई’ जस्तो सामान्य सुविधा पनि छैन । भएका टेलिभिजनहरुमा पनि नेपालको प्रचार प्रसार गर्ने खालका सामग्री प्रशारण गर्नुको साटो विदेशी च्यानल प्रशारण गरिएको अवस्था छ । विमानस्थलको यस्तो अवस्थाले नेपाल साँच्चै नै दरिद्र देश हो भन्ने पहिचान दिएको छ । राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर सामान्य नागरिकले पटक–पटक यस विमानस्थल प्रयोग गरे पनि त्यसलाई सुधार गर्नुपर्छ भन्ने मानसिकता नभएको कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल नेपालीलाई गिज्याउने विषय बनेको छ ।
चार चार दिनसम्म विमानस्थल अवरुद्ध हुँदा विदेशीहरुले तिम्रो देशको सरकार के हेरिरहेको छ भन्ने प्रश्न गरे । जवाफमा हरेकले भने– नेपालमा सरकार नै छैन । उत्तर एकदमै ठिक हो । सरकार भनेको जनताको सेवा र सुविधाका लागि हो । तर,नेपालमा सरकार भनेको सरकारमा बस्नेहरुको सेवा र सुविधाका लागि मात्रै हो । जनताले कति दु:ख पाएका छन् भन्ने कुरा बुझ्न सरकारलाई फुर्सदै छैन । यदि नेपालमा सरकार हुँदो हो त अहिलेसम्म पोखरा, भैरहवा अथवा निजगढमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने थियो । विमानस्थलको कुरा मात्र होइन, सरकार भैदिएको भए नेपाल, विकासको गतिले धेरै अगाडि बढ्ने थियो । लाखौं नेपाली रोजगारको लागि विदेशिनु पर्ने थिएन, १८/१८ घण्टा लोडसेडिङ भोग्नुपर्ने थिएन । तर, दुर्भाग्य प्रजातन्त्रका लागि नेपाली जनताले पटक–पटक बलिदान दिए पनि त्यो बलिदानी दलका नेताहरुलाई सत्तामा पुग्ने भर्याङ र लुट मच्चाउने थलो बनेको छ । ०४६ सालदेखि अहिलेसम्म हामीले राजनीतिलाई कमाउने धन्दा मात्र नबनाएको भए देश अहिलेसम्म कहाँ पुगिसक्ने थियो । यसका बारेमा सोच्ने कसले ? सरकार र राजनीतिक दलका नेताहरु देश र जनताप्रति इमान्दार भैदिएको भए, हामी यति साह्रो दरिद्र बन्ने थिएनौं । राजनीतिक दलका नेता इमान्दार नभएकै कारण अहिलेसम्म राजनीतिक अस्थिरता छ । संविधान बन्न सकेको छैन । सत्तामा बसेर लुट्नेहरुका लागि राजनीतिक अस्थिरता नै सुनौलो बिहानी बनेको छ ।
अन्तयमा, ‘थ्याङ्स गड’ टर्किस एयरलाइन्सको घटनाबाट सरकारले केही शिक्षा लिनै पर्छ ।














प्रतिक्रिया