३ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा थन्किएका कोरोना जाँच्ने पिसिआर मेसिन धनगढी, नेपालगन्ज र पोखरा पठाइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ चैत । काठमाडौंमा प्रयोगविहीन राखिएका कोरोना जाँच्ने पिसिआर मेसिन सरकारले प्रदेशका प्रयोगशालामा पठाएको छ । एकैपटक ९७ नमुना परीक्षण गर्ने क्षमताका मेसिन सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा र प्रदेश ५ को नेपालगन्जमा पठाएको हो ।

कोरोना परीक्षण सुस्त हुँदा सरकारले भने २४ पिसिआर मेसिन प्रयोगविहीन राखेको समाचार बुधबार नयाँ पत्रिकाले प्रकाशित गरेको थियो । बुधबार नै तीन प्रदेशमा एक–एक मेसिन पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढी, पोखरा र नेपालगन्जमा बुधबार नै ठूला मेसिन जडान गर्ने काम सुरु भएको बताए । ‘पोर्टेबल पिसिआरबाट परीक्षण सुस्त भयो, त्यसैले परीक्षणको दायरा बढाउन काठमाडौंमा थन्किएका ठूला पिसिआर मेसिन प्रदेशमा जडान गर्न थालिएको छ,’ प्रवक्ता डा. देवकोटाले भने, ‘वीर अस्पतालमा पनि चाँडै पिसिआर सञ्चालनमा ल्याउने तयारी भएको छ ।’

धनगढीमा बिहीबारबाटै पिसिआरबाट नमुना परीक्षण गर्ने तयारी छ । सेनाको स्काई ट्रकबाट मेसिन धनगढी पु¥याइएको थियो । पशुरोग अन्वेषण प्रयोगशालामा जडान सुरु गरिएको र सम्भवतः बिहीबारबाटै नमुना जाँच सुरु हुने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन नरेन्द्र कार्कीले बताए ।

देशभर २९ पिसिआर रहेकामा पाँचवटा मात्रै सञ्चालनमा छन् । बुधबार तीनवटा धनगढी, पोखरा र नेपालगन्ज लगेपछि पनि २१ मेसिन अझै प्रयोगविहीन छन् । वीर, पाटन र ठिमी अस्पतालदेखि त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रहरूमा ती मेसिन थन्किएका छन् । सरकार भने एकपटकमा १५ मात्रै नमुना परीक्षण गर्न सक्ने क्षमताको चिनियाँ पोर्टेबल पिसिआर प्रयोग गरिरहेको छ ।

चिनियाँ मेसिनबाट जाँच्न ढिला हुँदा हालसम्म दुई हजार तीन सय ६६ नमुना परीक्षण मात्रै भएको छ । उपत्यकाभित्र एक हजार नौ सय ६५ र उपत्यकाबाहिर चार सय एकको परीक्षण भएको हो । अहिलेसम्म नेपालमा नौ संक्रमित भेटिएका छन् । तर, पछिल्लो समय नयाँ संक्रमित फेला नपरेको डा. देवकोटाले बताए । नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले समाचार लेखेका छन् ।