काठमाडौं, १८ चैत । कोरोना भाइरस संक्रमण आशंकामा इटहरी उपमहानगरपालिका १२ का एक जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
दुबईबाट दुई साता अघि घर फर्किएका उनी होम क्वारेन्टाइनमा थिए । नियमित ज्वरो आएको र खोकी लागिरहेका कारण कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।

यसैबीच, कोरोना संक्रमणको महामारी र संत्रासकाबीच राहत वितरणको काम चलिरहेको प्रति नेपाल कम्युनिस्ट पार्टीका सुनसरी युवा नेता मदन चुडालले संयमता अपनाउनका लागि अपिल गरेका छन् ।
विभिन्न दल र युवा संगठनले हुल बाँधेर राहत वितरणको काम गरिरहेका विवरण सतहमा आएपछि उनले आफू र समुदायलाई जोगाउनका लागि त्यस्ता काम संयमताका साथ गर्नुपर्ने उल्लेख गरेका छन् ।
उपलव्ध रहेका राहतलाई प्रशासनमार्फत वितरण गराउन सकिने बताएका उनले भनेका छन्, ‘राहत वितरणका लागि सरकार छ, सरकारका विभिन्न निकायसँग समन्वय गरौं, आफैं हुल बाँधेर वितरणमा सहभागी नबनौं ।’
यस्ता कामले कोरोना संक्रमणको जोखिम अझ बलियो हुने भएकाले लक डाउनको अर्थअनुसार सरकारलाई सहयोग गर्नका लागि नेकपा सुनसरी युवा तथा खेलकुद विभागका संयोजक समेत रहेका चुडालको अपिल आएको हो ।











प्रतिक्रिया