४ कार्तिक २०८३, बुधबार

सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल आउने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ ।

विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो। चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको छ ।

नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो।

सोमबार मात्रै चिनियाँ राजदूत होउ यान्कीले यो संकटको बेलामा नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव साथमा रहेको उल्लेख गरेकी थिइन्। उनले नेपालका लागि आवश्यक सहयोग सामाग्री पठाउने तयारी भइरहेको जनाएकी थिइन् ।

चीनले भन्यो, ‘नेपालले आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौं चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउने भएको हो ।’

परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ । नेपालले चीनसँग १९ थरी स्वास्थ्य सामाग्री मागेको छ ।

जसमा मोबाइल एम्बुलेन्स, मास्कदेखि कोरोना भाइरस जाँच्ने किटसम्म छन्। सरकारले भारतसँग पनि १६ थरी स्वास्थ्य सामाग्री मागेको छ । तर भारत आफैँ कोरोना भाइरससँग जुधिरहेकाले दिने नदिने टुंगो हुन बाँकी छ ।

चीनले गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी आफ्नो देशमा नियन्त्रण भइसकेको जनाएको छ। उसले अहिले इटाली, स्पेन, सर्बिया जस्ता देशमा पनि आफ्नो सहयोग केन्द्रित गरेको छ । त्यहाँ औषधि र मास्क बोकेका जहाज र चिनियाँ स्वास्थ्यकर्मीका टोली धमाधम उत्रिरहेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।