४ कार्तिक २०८३, बुधबार

आजबाट नेपाल एक साता लकडाउन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सरकारले अन्ततः देशै लकडाउन गरेको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो। यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन् ।

सरकारले यो निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाटै गरेको र त्यसको सार्वजनिकीकरण मात्र सोमबार गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए। कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा. खतिवडाले बताए ।

‘यो एकप्रकारले सरकारको आदेश हो। आइतबारकै मन्त्रिपरिषद् बैठकले गरेको निर्णय थियो, आज मात्र हामीले सार्वजनिक गरेका हौं’, उनले भने, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पनि अब यसलाई हामी सबैले लागू गर्नुपर्छ ।’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले यस्तो कदम उठाएको हो। यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाउँदैनन्। त्यसबाहेकका कर्मचारीलाई भने कार्यालय प्रमुखले आवश्यकताका आधारमा बोलाउने गरी घर-घरमै अलर्ट अवस्थामा राख्ने गरी बिदा दिने निर्णय पनि भएको उनले सुनाए ।

लकडाउनपछि निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द हुनेछन् भने आन्तरिक हवाई उडान बन्द हुनेछन्। लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान भने सरकारले यसअघि नै बन्दको घोषणा गरेको थियो ।

सोमबार मात्रै नेपालसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका उत्तरी चीनतर्फका २ वटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिण भारततिरका ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी कुल १ सय ६४ वटै नाका पनि सिल गरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।