काठमाडौं, १० चैत । निजी शिक्षालयका तीन संस्थाले सरकारलाई २ हजार बेडसहितको स्थान उपलब्ध गराउने भएका छन्।
प्याब्सन, एनप्याब्सन र हिसानले उल्लिखित बेड राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन सहयोग गर्ने वचन दिँदै यसका लागि आवश्यक पर्ने सुरक्षाकर्मी र चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा क्वारेन्टाइन र आइसोलेसन निर्माण र सहयोग गर्न बसेको बैठकमा उक्त छलफल भएको प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले जानकारी दिनुभयो।
उहाँका अनुसार स्थान दिइए पनि जनशक्ति उपलब्ध गराउन सरकारलाई नै आग्रह गरिएको छ। यसअघि हिसानको बैठकले करिब ५ हजार कोठा उपलब्ध गराउने कागजी घोषणा गरेको थियो।
तर हिसानले भने अहिलेसम्म एउटा पनि कोठा उपलब्ध गराएको छैन। तर वरिष्ठ उपाध्यक्ष युवराज शर्माको समूहले हिसानले हचुवाको भरमा कोठा उपलब्ध गराउने बताउँदै आएको थियो। आइतबार बसेको बैठकमा हिसानका अधिकारीहरूले अझै ५ हजार कोठा उपलब्ध गराउने जनाउँदै आएका थिए।
हिसानका महासचिव लोकबहादुर भण्डारीले आज बैठक बसी कति कोठा उपलब्ध गराउने भन्ने निर्णय गर्ने बताउनुभयो।
सरकारले भने हिसानसहित निजी विद्यालय र होटल व्यावसायीहरूबाट २/२ हजार र अन्य सरोकारवालाका तर्फबाट १ हजार गरी ५ हजार कोठा अपेक्षा गरेको छ।
एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफ्नो संस्थाबाट पनि काठमाडौंमा ५ सय कोठा र अन्य खाली स्थान उपलब्ध गराउनेबारे छलफल भइरहेको बताउँदै भन्नुभयो– ‘आज सोमबारको बैठकमा तथ्याङ्कसहित सबै विवरण पेस गर्नेछौं।’
हिसानका अध्यक्ष रमेश सिलवालले खाली स्थान उपलब्ध गराएपछि स्वाथ्यकर्मी, सुरक्षा निकाय र अन्य आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने जिम्मा सरकारकै भएको स्पष्ट पार्नुभयो। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया