
काठमाडाैं, ८ चैत । अन्यावश्यक शल्यक्रिया तथा स्वास्थ्य परिक्षण तत्कालका लागि रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला अस्पताललाई निर्देशन दिएका छ ।
सामान्य खालको स्वास्थ्य परीक्षण तथा शल्यक्रिया चैत मसान्तसम्म बन्द गर्न अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले कोरोना भाइरसको नमुना परीक्षण तत्काल सुरु गर्न वीर, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई निर्देशन दिएको छ।
यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र नमुना परीक्षण गर्दै आएको थियो। समुदायमा फैलावटको अवस्था पत्ता लगाउन प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार परीक्षणको व्यवस्था मिलाइएको छ।
शंकास्पद बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी घर जाँदा घरमा रहेका वृद्धवृद्धा तथा बालबालिकामा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीले चाहे सम्बन्धित अस्पताललाई छुट्टै आवासको व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ।
संक्रमणको शंका लागी आइसोलेसनमा राखिएका बिरामी एवं आफन्तले तत्काल घर पठाउन दबाब दिने हुँदा सुरक्षा प्रबन्ध गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।











प्रतिक्रिया