काठमाडौं, २४ फागुन । विश्व फुटबलका स्टार लिओनल मेस्सीको ह्याट्रिकले वार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
यसका साथै मेस्सीले ला लिगामा कीर्तिमानी २४ औं हृयाट्रिक पुरा गरेका छन् । उनले रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो पनि पछ्याएका छन् ।
आइतबार घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेर ला लिगाको शिर्ष स्थानमा उक्लिएको हो । भालेकानो विरुद्ध मेस्सीले तिन गोल गरे ।
यसअघि ला लिगामा मेस्सी र रोनाल्डोको समान २३/२३ हृयाट्रिक थियो । बार्सिलोनाका लागि पाँचौं मिनेटमा लुईस स्वरेजको गोलबाट अग्रता लियो । पहिलो हाफमा बार्सिलोना १-० ले अगाडि रह्यो ।
बार्सिलोनाका लागि दोस्रो हाफमा ४९औं मिनेटमा जेरार्ड पीकेले गोल गरे । खेलको ५६ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे ।
६३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । ६८ औं मिनेटमा उनले तेस्रो गोल गर्दै ह्याट्रिक गरे ।
रायो भालेकानोका लागि अल्बर्टो बुएनोले खेलको अन्तिममा एक गोल गरे । वार्सिलोनाका लागि खेलको अन्तिममा स्वरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६-१ को जित दिलाएका थिए ।
आइतबारको खेलमा रायोसंग जित हात पार्दै बार्सिलोना २६ खेलबाट ६२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
एथ्लेटिको बिल्बाओसँग शनिबार राति पराजित भएको रोनाल्डोको रियल मड्रिड ६१ अंक सहित दोस्रो स्थानमा झरेको छ ।














प्रतिक्रिया