काठमाडौं, ३ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनीष सुमनले मुख्यमन्त्री लालबाबु राउतका कारण दुई दलको गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव सुमनले गैरजिम्मेवार मुख्यमन्त्री राउतलाई काँध थापेर बसिरहन नसकिने बताए ।
कामै गर्न नसकेपछि आफूले राजीनामा मागेको भन्दै महासचिव सुमनले मुख्यमन्त्री राउतले प्रयोग गरेका शब्दहरूको खण्डन नगर्ने बताए । सुमनले प्रदेश सभामा आफूले मात्रै नभएर स्वयं समाजवादी पार्टीका सांसद र विपक्षी दलका सांसदले पनि मुख्यमन्त्री राउतमाथि प्रश्न उठाएको बताए ।
उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अन्य शीर्ष नेताहरूसंग पनि मुख्यमन्त्री हटाउन माग गर्ने र पार्टी्िभत्र पनि छलफल गर्ने धारणा राखे ।
मुख्यमन्त्री राउतले संघीयता र मधेश आन्दोलन विपरित काम गरेको, आफ्नै कार्यलयका कर्मचारीलाई काम गराउन नसकेको, सरकार पारदर्शी रुपमा नचलाएको र जताततै भ्रष्टाचार मात्र बढाएको महासचिव सुमनको आरोपछ ।
‘मुख्यमन्त्रीले काम गर्न सक्नुभएन । उहाँले कर्मचारीलाई काम गराउन सक्नुभएन । मुख्यमन्त्रीले असंसदीय भाषा बोलिरहनुभएको छ’, उनले भने, ‘सरकार चलाउन सकिरहनुभएको छैन् । सांसदले टेर्दैनन्, कर्मचारीले टेर्दैनन्, मन्त्रीहरूले टेर्दैनन्, बजेट खर्च हुँदैन, मधेशका जनताका लागि केही हुँदैन भने यस्तो मुख्यमन्त्री राखेर प्रदेश दुइँको किन बदनाम गराउने ।’
महासचिव सुमनले मुख्यमन्त्रीले गतवर्षको ८६ करोड रकम भुक्तिनी नदिएका कारण सांसदहरूले आत्महत्या गर्नुपर्ने अवस्था आएको बताए । उनले मुख्यमन्त्री राउतलाई सरकारमा सहभागी भएको छौँ भन्दैमा समर्थन गर्न नसकिने बताए ।
उनले मुख्यमन्त्री राउत आफैले मलाई कर्मचारीले टेरेनन् काम गर्न सकिन भनिरहेको अवस्थामा अब बोटा खोलिदिनुपर्ने बताएका छन् ।
‘लालबाबु राउतका लागि हाम्रो गठबन्धन बनेको होइन । हामी उपेन्द्र यादवज्यूसंग कुरा गरेर नेतृत्व परिवर्तन गर्न आग्रह गर्छौ । यस्तो मुख्यमन्त्रीको नेतृत्लाई हामीले सघायौँ भने मधेशको आन्दोलनका लागि अपमान हुन्छ’, उनले भने, ‘संघीयताको अपमान हुन्छ । संघीयताको रक्षाको लागि पनि यस्ता व्यक्तिलाई राख्न सकिदैन ।’
‘दलीय व्यवस्थामा दलले भनेपछि उहाँ हट्नैपर्छ । गठबन्धनले भनेपछि उहाँ हट्नुपर्छ’, महासचिव सुमनले भने, ‘रिवन काटेर मात्रै मुख्यमन्त्रीको काम पूरा हुँदैन ।’











प्रतिक्रिया