चितवन, ३ चैत । यही चैत ६ गतेबाट हुने एसईई परीक्षाको चितवन जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले चितवन जिल्लामा एसईई परीक्षाको तयार पूरा भएको जानकारी दिए ।
०७६ सालको एसईई परीक्षाको लागि जिल्लामा यस पटक पनि ४२ वटा केन्द्र तोकिएको छ । उनका अनुसार चितवन जिल्लामा मर्यादापूर्वक शान्त वातावरणमा एसईई परीक्षा हुनेछ ।
परीक्षालाई मर्यादित बनाउनकै लागि होम सेन्टर दिने परिपाटीको अन्त्य गरिएको छ । यस वर्ष चितवनको एसईई परीक्षामा नियमित र एक्जाम्टेड गरी ११ हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् ।
नियमिततर्फ मात्र ११ हजार २५५ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । एक्जाम्टेड तर्फ चितवनमा ५० जना सहभागी हुँदै छन् ।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत दीपेन्द्रराज श्रेष्ठका अनुसार विद्यार्थीलाई सकेसम्म पायक पर्ने स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
बिहान ८ बजेबाट परीक्षा शुरु हुन र यसअगावै विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ ।
चितवनमा रहेका ६ वटा स्कुलले प्राविधिक विषय पढाइरहेका छन् । ती ६ वटा स्कुलका १८१ जना विद्यार्थीले पनि एसईई परीक्षा दिदैछन् ।
यसपटकको एसईईमा सहभागी विद्यार्थीमध्ये ५ हजार ५३९ छात्र र ५ हजार ७१६ छात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ ।












प्रतिक्रिया