
काठमाडौं, २७ फागुन । परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीको नाडी चिर्न लगाउने शिक्षिकालाई छाड्न अभिभावककै दवाब आउन थालेको छ ।
जडीबुटीस्थित जागृति एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई यातना दिने सामाजित विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई रिहा गरिदिन अभिभावकहरूले नै दबाब दिएका हुन् ।
परीक्षामा कम नम्बर ल्याएको भन्दै कर्माचार्यले विद्यालयमा कक्षा ६ का २७ र ७ का ९ जना विद्यार्थीलाई बिहीबार ब्लेडले नाडी चिर्न लगाएकी थिइन् । फागुन २३ गते विद्यार्थीलाई ब्लेडले चिर्न लगाउने शिक्षिका कर्माचार्यलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बर्खास्त गरिएको थियो ।
शनिबार प्रहरीले कर्माचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अहिले अभिभावकबाटै शिक्षिकालाई छाड्न दवाब आइरहेको प्रहरीले जनाएको छ ।
शिक्षिकाविरुद्ध विद्यालय र अभिभावकले अहिले जाहेरी दिन नमानेको प्रहरीले जनाएको छ । शिक्षिका विरुद्व जाहेरी नपरे पनि पनि ‘बालबालिकासम्बन्धी ऐन–२०७५’ अनुसार मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।











प्रतिक्रिया