
काठमाडौं, २० फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह र परिवारले हालै दुई सातासम्म भारतका विभिन्न सहरमा बस्दा केही महत्वपूर्ण राजनीतिक र कुटनीतिक भेटघाट भएको दाबी गरिएको छ ।
पारिवारिक र धार्मिक स्थलको दर्शनका लागि भनेर गरिएको भ्रमणका क्रममा केही महत्वपूर्ण राजनीतिक भेट भएको र तिनलाई गोप्य राखिएको छ ।
पूर्वराजा भारत भ्रमण सकेर आउनासाथ राप्रपाबाट चुनाव जितेका एकमात्र सांसद, त्यस पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले राजसंस्था कायमको कुरा समेत उठाएका थिए ।
विभिन्न धार्मिक भ्रमण गरेर फर्किएका ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसहितका सदस्यसँग भारतीय उच्च तहका राजनीतिक व्यक्तित्वको भेट समेत भएको बताइएको हो ।
नेपालबाट राजतन्त्र समाप्त बनाउनका लागि भारतको भूमिका निर्णायक रहेको बुझाई निर्मल निवासमा छ । तत्कालिन भारतीय संस्थापनको शर्त नमान्दा आन्दोलनमा उत्रिएका दल र तत्कालिन नेकपा माओवादीको १२ बुँदे समझदारी एकातिर गराएर अर्कातिर राजाको माथाहतमा रहेको सरकारलाई गोलीबारुद निकासीमा रोक्दा दरबार ढाल्न सहयोग गरिएको थियो ।
तैपनि कतिपय भारतीय नेताले राजसंस्थाको पुनरागमन हुन सक्ने अभिव्यक्ति नदिएका होइनन् । पूर्वराजा र उनका अनुयायीले नेपाललाई धार्मिक सापेक्षक मुलुक बनाउनुपर्ने आवाज उठाइरहेका बेला भारतको अहिलेको संस्थापन पनि हिन्दुत्वको पकड बलियो हुनुपर्छ भन्ने मान्यतामा छ । यहि बीचमा दुई साता लामो भ्रमणमा पूर्वराजाले भारतमा भारतीय जनता पार्टीलगायतका कतिपय नेतासँग भेट गरेको अनुमान गरिएको छ ।
यद्यपि यस विषयलाई निर्मलनिवास स्रोत र भारतीय विभिन्न अफिसियलले आधिकारीकता दिन मानेका छैनन् । यद्यपि नेपालबाट हुने उच्च तहको भ्रमणमा भारतमा नेपाली राजनीति र व्यवस्थालाई लिएर चियोचर्चा र चासो हुने गरेको पाइन्छ ।
केही समयअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उपचारका लागि नयाँ दिल्लीमा पुग्दा त्यहाँका रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेट भएको तस्बिर बाहिरिएको थियो भने पूर्वराजाका पनि कतिपय भेटमा योगी आदित्यनाथलगायतसँगका तस्बिर सार्वजनि भएका थिए ।
उच्च स्रोतका अनुसार दुई साता लामो बसाईका क्रममा पूर्वराजाले तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको विशेष दूत बनेर आएका कांग्रेस आईका नेता करण सिंहसँग भेट गरेका छन् । त्यो भेटमा भारतले दिएको आश्वासन पूरा नगरेको भन्ने गुनासो पूर्वराजाले गरेको बुझिएको छ ।
पूर्वराजा शाह भारत जानुभन्दा अघि डा. सिंहले नेपाललाई पनि भुटानजस्तै बनाउनुपर्छ भनी गरेको प्रस्तावका कारण राजसंस्था ढलेको भन्ने विवरण सतहमा आएका थिए । त्यो विवरणले नेपालको राजनीतिक दललाई भारतीय संस्थापनले लम्पसार पार्ने र नपरे सिध्याउनका लागि अनेक खालका अस्थिरतासँगै व्यवस्था नै परिवर्तन गरिदिन सक्नेसम्मका आँकलन भएका छन् ।
नेपालको राजसंस्थाको बहिर्गमनमा भारतको अहम् भूमिका थियो भन्ने विषयको जानकारी र संकेतचाहिँ केही दिन अघि मात्र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग तत्कालिन भारतीय प्रधानमन्त्री सिंहले गरेको अनौपचारिक कुराकानीको तथ्यमा राखेर पनि हेर्न सकिने आधार भेटिएको छ । आचार्यसँग सिंहले पूर्वराजाका लागि मध्यमार्गी सुझाव दिएर डा. करण सिंहलाई पठाइएको तर उनले नमानेका कारण नेपालको लोकतान्त्रिक आन्दोलनलाई साथ दिनु परेको भन्ने विवरण पनि आएको छ ।











प्रतिक्रिया