
काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ केन्द्रीय विभागमा एकलौटी रुपले विभाग प्रमुख तोकेपछि कांग्रेसमा अर्को विवाद देखिएको छ ।
देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रूपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको हो । सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
यसैगरी केन्द्रीय सदस्यहरु शङ्कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता)लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका हुन् । विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापनइतरका नेताहरूले लगाएका छन् । देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपत्ति छ ।
देउवाले पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापां), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेका हुन्। पौडेल पक्षले शनिबारै भएको आमन्त्रित सदस्य मनोनयनको निर्णयलाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ । कार्यकालभर गठन हुन नसकेको विभाग अहिले आएर गठन गर्नुका पछाडि महाधिवेशनलाई प्रभावित पार्ने योजना रहेको वरिष्ठ नेता पौडेलले बताए ।











प्रतिक्रिया