
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बारम्बार भन्छन्– राजनीति सम्भावनाहरूको खेल हो । यसै कारण पनि हुनुपर्छ, तत्कालिन माओवादीसँग गतिलो सम्बन्ध नभएको मानिएका नेता केपी शर्मा ओलीसँग सरप्राइज गठजोड भयो, पार्टी एकीकरण सम्भव भयो ।
प्रचण्ड फेरि भन्छन्,‘अलि अलि विवाद र संघर्ष भएन भने कम्युनिस्ट पार्टी अगाडि बढ्दैन ।’ यस्तै अहिले नेकपाका अध्यक्ष ओलीसँग उनी नेतृत्वको सचिवालयका अन्य सदस्यको विवाद रहेको सतहमा आइसकेको छ । ओलीलाई सचिवालयमा एक्ल्याउने र निर्णय लागू गराउने दबाब पनि थियो ।
प्रचण्डका यी दुवै भनाईसँग नेकपामा नयाँ समिकरण हुने सम्भावना बढेको छ । खासगरी केही महिना अघि मात्र चिसो सम्बन्ध रहेको बताइएका ओली र नेपालको गठजोड हुने भएको छ ।
‘राजनीतिमा अनेक प्रकारका समिकरण बन्छन् । प्रधानमन्त्री ओली र नेता नेपालबीच नयाँ समिकरण होइन, तत्कालिन एमालेको आठौं महाधिवेशनको सहकार्य पुनर्ताजगी हुनेछ’, नेकपा स्रोतले भन्यो ।
ठिक सोही समयमा नेता झलनाथ खनाल र बामदेव गौतमको फरक समिकरण थियो । आठौं महाधिवेशनले खनाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । ‘अहिले नेकपामा देखिएको हाल पनि त्यहि छ । सचिवालयमा प्रचण्डसँग खनाल र गौतम छन् । यो ठ्याक्कै त्यहि बेलाको तस्बिर जस्तो छ’, नेकपा स्रोतले भन्यो ।
त्यहि बेला नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रचण्डले खनाललाई प्रधानमन्त्री बनाउन सात बुँदे गोप्य सहमति गरेका थिए । पार्टीले त्यतिबेलै दिएको म्यान्डेड नमानी खनालको मनोपोली पनि चलेको थियो ।
‘त्यो दृश्यका विषयमा ओली–नेपाल दुवै जानकार हुनुहुन्छ । अहिले सचिवालयको समिकरणको परिदृश्य त्यहि बेला जसरी अगाडि बढ्दैछ’, उच्च स्रोतले भन्यो ।
यसका केही संकेतहरू पनि प्रष्ट भएर आएका छन् । नेता नेपालले ओलीसँग सहजीकरणको जिम्मा लिए । प्रधानमन्त्री ओली आफैंले पनि नेता नेपाललाई बालुवाटारमा डाकेर अप्ठेरोको विषयमा सुनाए, नेपाल शुक्रबार पनि ओलीसँग छलफलमा पुगे ।
अर्को जोडबल दिने संकेतचाहिँ नेपाल पक्षमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले नेता खनाललाई व्यंग्य गरी प्रधानमन्त्री ओलीको पक्षमा सामाजिक सञ्जालमा लेखेको स्ट्याटस पनि हो । सचिवालयमा बरिष्ठताको हिसाबमा नेपाल खनालभन्दा माथि राखिएका थिए, एकीकरण ताका । तर खनालले ज्यादै गुनासो गरेपछि सचिवालयमा उनको बरियता अगाडि पारिएको थियो ।
‘राजनीतिमा जोड घटाउ र सम्भावना अनेक प्रकारका हुन्छन्, समिकरण बन्छन् भत्किन्छन् फेरि सन्तुलनमा आउने कारण पनि हुन्छन्’, उच्च स्रोतले भन्यो । त्यसो त सतहमा आएको विवादले पार्टी विभाजनकै तहमा पुग्ने विषयलाई रोक्न पनि नेपालले सन्तुलित भूमिका निर्वाह गर्ने घोषणा गरिसकेका छन् ।











प्रतिक्रिया