
काठमाडौं, १७ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थनामा राखिएको भन्दै अदालतले चार प्रहरी अधिकारीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
विप्लव कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकसहित चार जनालाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । विप्लव कार्यकर्ता भीमप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी र हरिचन्द्र खड्काले आफूहरूलाई गैरन्यायीक थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दै अदालतले रिहा गर्न आदेश गरेको थियो । तर, सोही दिन प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरेको थियो । शुक्रबार भएको आदेशमा तत्काल उनीहरूलाई रिहा गर्न पनि भनिएको छ ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख र प्रहरी निरीक्षकलाई सात दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।











प्रतिक्रिया