८ मंसिर २०८३, मंगलबार

चुडाल संघर्ष समितिले कायम गरायो इटहरीको सडक सीमा

25.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संघर्ष समितिका संयोजक नेकपा सुनसरीका युवा नेता चुडाल

काठमाडौं, १७ फागुन । मोरङ जोगवनीदेखि किमान्थाङ्कासम्मको सडक विस्तारका क्रममा इटहरी उपमहानगरको सहरी क्षेत्रमा समान मापदण्ड कायम नभएपछि नेकपा सुनसरी सदस्य मदन चुडालको संयोजकत्वमा गठन भएको थियो, संघर्ष समिति ।

संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री, इटहरी उपमहानगरपालिकाका मेयरलगायतका पदाधिकारी, सडक आयोजना कार्यालयमा समान मापदण्ड कायम गरी सडक चौडाका लागि आग्रह गरेको थियो ।

सडक कार्यालयले ध्यान नदिएपछि उक्त समितिले धर्ना समेत गरेको थियो । प्रत्यक्ष र परोक्ष रूपमा सडक विस्तार समान हुनुपर्ने संघर्ष समितिको माग हालै पूरा भएको छ ।

‘सर्वसम्मत र सबैलाई मान्य हुनेगरी सडक विस्तार हुनुपर्छ भन्ने हाम्रो माग र दबाबले काम गरेको छ’, संघर्ष समितिका संयोजक चुडालले भने,‘अब इटहरीको सहरी क्षेत्रका दुवैतिरका सडक उत्ति नै दूरीमा विस्तार हुनेछन् ।’

इटहरी बजारको सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम गर्ने निर्णय भएको छ । जोगबनी ,रानी ,बिराटनगर, इटहरी, धरान हुँदै किमाथांका जोड्ने सडक विस्तारको काम भइरहेको छ ।

विराटनगर इटहरी धरान सडक योजनाअन्तर्गत कोशी राजमार्गको घोषित सीमा कायम गर्ने विषयको विवादले शुक्रबार टुंगो पायो ।  इटहरी उपमहानगरपालिका, सडक आयोजना कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरकारी निकायका प्रमुखहरूको बैठकले उक्त निर्णय लिएको हो ।

सडक विस्तारमा समानता कायम गर्न बसेको सर्वपक्षीय बैठकको निर्णय

मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मासहित वडाध्यक्षहरू दिपक गौतम, भुपेन्द्र बराल, चन्द्रप्रसाद भट्टराईको बैठकले दायाँ बायाँ २५–२५ मिटर सडक विस्तार गरिने निर्णय गरेको छ ।

प्रतिनिधि सभा बैठकमा सडकबारे समाधानका लागि सवाल उठाउँदै सांसद चौधरी

बैठकले आफ्नो घर टहरा भत्काउन अन्तीम पटक १५ दिने म्याद दिइ सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ । इटहरीमा ठाउँ अनुसारको फरक फरक मापदण्ड बनाइ सडक निर्माण भइरहेको थियो ।

यो विषयको विवाद लामो समयसम्म चलेको थियो । संघर्ष समितिको दबाबसँगै प्रतिनिधि सभा सदस्य तथा निवर्तमान कृषि राज्यमन्त्री रामकुमारी चौधरीले सदनमा नै सडक विस्तारको विषय जोडतोडले उठाएकी थिइन् । सो क्रममा उनले संघर्ष समितिको मागमा आफू सहमत रहेको र निर्णय गराउन संघीय सरकारले चासो दिनुपर्ने भन्दै १३ फागुनको बैठकमा कुरा उठाइन् ।

तोकिएको म्यादभित्र डिपिआर अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको क्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिका लगायतका संस्थाले हटाउने व्यहोरा उल्लेख हुनेगरी सूचना जारी हुने भएको छ ।

सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरेको हो ।

‘दिर्घकालिन विकासको विषयमा सदनमा कुरा उठाइएको हो, संघर्ष समितिले पनि निक्कै ठाउँमा पहल गरेको थियो, निर्णय हुनु राम्रो हो’, प्रतिनिधि सभा सदस्य चौधरीले भनिन् ।

त्यसो त संघर्ष समितिले सडकका विषयमा गरेका कतिपय कार्यक्रममा चौधरीको उपस्थिति थियो । उनले प्रत्यक्ष नै सडक विस्तारका क्रममा हुन लागेको असमान कामको निरिक्षण गरेकी थिइन् ।

‘युवाहरूले विकासका काममा समानताका कुरा उठाउनुपर्छ, यहि भनेर हामीले सडक विस्तारमा कसैलाई काखा र कसैलाई पाखा गरी निर्णय गर्न नहुने भनेका थियौं, यो निर्णयप्रति खुशी छौं’, चुडालले जोडे ।