
सोलुखुम्बु, ११ फागुन । सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माणका सामाग्री खसेको छ । सोलुदूधकुण्ड नगरपालिका १ को टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाको जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो ।
कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो । विगतका केही दिनमा यस्ता घटना भइरहेको भए पनि नियमनकारी निकाय भने मौन बसेको स्थानीयको दाबी छ ।
हवाई उडानकै कारण असुरक्षित महसुस भइरहेको भन्दै स्थानीयले प्रहरी प्रशासनसँग गुहार मागेको भए पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय भएको छैन ।
गएको भदौ १९ गते बिहीबारका दिन उडिरहेको कैलास एअरकै हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगायतको सामग्री खसेको थियो ।











प्रतिक्रिया