नयाँदिल्ली । भारतको दिल्ली नजिकै २५ वर्षीया युवतीलाई आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै हत्या गरेका छन् ।
परिवारका सदस्यहरूले नै ती युवतीको हत्या गरी फालिदिएको घटना सार्वजनिक भएको छ । पूर्वी दिल्लीबाट कारमा उनको मृत शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा फ्याँकिएको थियो ।
शीतल चौधरी नामकी युवतीलाई उनकै अभिभावक र अंकलहरू मिलेर हत्या गरी फालेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।
घटना सार्वजनिक भएपछि प्रहरीले ती युवतीको परिवारका सदस्य सञ्जय र ओम प्रकाश, अंकलका दुई छोरा अंकित र प्रवेशलाई पक्राउ गरेको छ ।
उनीहरूले शीतल चौधरीलाई अपहरणपछि हत्या गरेको दिल्ली प्रहरीको आरोप छ । शीतलका श्रीमान अंकित भाटीले मुद्दा दायर गरेपछि प्रहरीले घटनामा चासो देखाएको हो । प्रहरीका अनुसार उनीहरुले गत अक्टोबरमा परिवारको अनुपस्थितिमा गोप्य रुपमा विवाह गरेका थिए ।
परिवारभन्दा टाढा रहँदैआएका थिए । चौधरी र भाटी दुबैका परिवार डेरी व्यवसाय चलाउँदैआएका छन् । उनीहरू छिमेकी पनि हुन् ।