
मोरङ, ६ फागुन । सुत्केरी र शिशुको मृत्यु भएपछि मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल तनावग्रस्त बनेको छ।
सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएको थियो। सुत्केरी व्यथाले च्यापेपछि रविनालाई सोमबार बिहान ६ बजे अस्पताल भर्ना गरिएको थियो।
त्यसपछि बिहान १० बजे सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रूपमा छोरा जन्माएकी थिइन्। अस्पतालले मृत बच्चा जन्मिएको र त्यसपछि स्वास्थ्य अवस्था असामान्य बन्दै गएर आमाको पनि मृत्यु भएको जानकारी दिएको छ।
आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले घटना भएको भन्दै अस्पताल अगाडि अहिले नाराबाजी र प्रदर्शन गरिरहेका छन्। अस्पतालमा तोडफोडकै अवस्था आएको प्रहरीले जनाएको छ । अस्पताल र मृतक पक्षबीच वार्ताको प्रयास भइरहे पनि हुन नसकेको बताइएको छ ।











प्रतिक्रिया