
विराटनगर, ६ फागुन । डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सीडीई) जितेन्द्रकुमार चौधरीविरुद्ध अकुत सम्पत्तिको अभियोगमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार बिगो कायम गर्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनामा ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरी घर–घडेरी जोड्ने, अवैध आर्जन गरी बैंकमा रकम जम्मा गरेको अख्तियार अनुसन्धानले पाएको पछि मुद्दा दायर गरिएको हो।
यो मुद्दामा उनका श्रीमती र छोराछोरीलाई पनि प्रतिवादी बनाइएको छ। चौधरीलाई २ वर्ष कैद र बिगो बमोजिमको जरिवाना र अकुत सम्पत्ति जफतको माग गरिएको छ।
सीडीई चौधरीले गैरकानुनी सम्पत्ति आर्जन गरी उनले तथा उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको पाइएको छ। चौधरीले सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनीरूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफूलगायत श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च गरेका थिए।
हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद गरेको देखिएको छ।











प्रतिक्रिया