
-प्रतिक पौडेल
भैरहवा, ५ फागुन । रुपन्देहीको मर्चवारमा एक नाबालिका माथि सामूहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया नाबालिका माथि सामूहिक बलात्कार भएको हो ।
सम्मरीमाई गाउँपालिका ३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी बालिकालाई घर बाहिर बोलाएर नजिकै निर्माणधीन अवस्थामा रहेको भवनमा लगेर तिन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
पीडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना बाहिर आएको हो ।
बालिकाको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ । बालिकाको बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागि भारतको मुम्बईमा रहेका छन् । बालिका आफ्नो शाररिक रुपमा अस्वस्थ हजुरवुवा, एक बिहिनी र भाईसँगै बस्दै आएकी छन् ।
बलात्कारमा संग्लन तिन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जानकारी प्रहरी निरिक्षक चित्र बहादुर घलेले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका युवाहरु अन्दाजी २२/२३ वर्षका रहेका छन् । प्रहरीले घटनाको बारेमा थप विवरण अनुसन्धान पछि मात्र आउने जानकारी दिएको छ ।















प्रतिक्रिया