
काठमाडौं, ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले एक इन्च भूमि पनि नछोड्ने बताउनुभएको छ । नेपालले कसैको एक इन्च सीमा पनि नमिच्ने र आफ्नो मिचिएको भूमि पनि नछोड्ने उहाँले बताउनुभयो ।
दार्चुला उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ लाई सम्बोधन गर्दै उहाँले “छिमेकी मुलुक भारतलाई औपचारिक ढङ्गले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, हाम्रो सीमा हामी छोड्न सक्दैनाैँ भनेर ‘डिप्लोमेटिक नोट’ पठाएको छ । हामी पत्र पठाउने मात्र हैन, अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ता गरेर छिनोफानो गर्छौं ”भन्नुभयो ।
केही दिनअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मतिले लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र नेपालको भूमि हो, त्यो भूमिमाथि अनधिकृत ढङ्गले कसैले नक्सा निकाल्छ भने हामी स्वीकार गर्दैनाैँ भनेर प्रस्ताव पारित गरिसकेको बताउँदै उहाँले सरकारले जतिसक्दो चाँडो यो विषय टुङ्गो लगाउने जानकारी दिनुभयो ।











प्रतिक्रिया