काठमाडाैं, २७ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलसँग उनकै कार्यकक्षमा बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेट गरेका छन् ।
पाेखरेलले बंगलादेशका सेना प्रमुख तथा उनीसँगै नेपाल भ्रमणमा आएका बंगलादेशी सेनाका वरिष्ठ अधिकृतहरूलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र बंगलादेशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा चर्चा गरेका छन् ।
सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच अति सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको र यो सम्बन्ध सरकारीस्तरमा मात्र नभएर जनस्तरसम्म विस्तार भएको कुरा उनले उल्लेख गरे ।
दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिई थप उचाइमा पुर्याउन आवश्यक रहेको कुरामा उनले जोड दिए ।
बंगलादेश र नेपाल दक्षिण एशियाका दुई विकासोन्मुख मुलुकका रूपमा रहेको चर्चा गर्दै उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशको साझा धारणा रहँदै आएको विचार व्यक्त गरेका छन् ।
दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्री पाेखरेलले संयुक्त सैनिक अभ्यास तथा तालिम मार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।














प्रतिक्रिया