१ कार्तिक २०८३, आइतबार

३० देखि ५० प्रतिशत क्यान्सर जीवनशैलीका कारण लाग्छ : प्राध्यापक डा पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मघ । प्रत्येक वर्ष नेपालमा २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइरहेका छन् ।

नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले गर्दा यस्ताे हुने गरेकाे वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताएका छन् ।

मंगलवार काठमाडौंस्थित् लोयल्टी एकेडेमी, मण्डिखाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा ‘विश्व क्यान्सर दिवस’ को अवसरमा सञ्चालित अन्तरक्रियामा प्रा. डा. पौडेलले यस्तो बताएका हुन् ।

उनले ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारणले गर्दा लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बनाउनुपर्ने टिप्स दिएका छन् । यसको अलावा सुर्तीजन्य पदार्थबाट टाढा वस्नुपर्ने कुरा पनि उनले बताए ।

क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे ।

नेपालमा अझैपनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’ भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने कुरा पनि उनले बताए । उनले भने,‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढि हुँदा विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’

उनले वर्षको एक दिन क्यान्सर दिवन मनाउनु भन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणको लागि अरुलाई सुर्तीजन्य पदार्थ त्याग्नको लागि प्रोत्साहित गर्नुपर्ने पनि सुझाव दिए ।

‘विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधिमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामा निकै कमी आएको छ ।’ उनले सुनाए ।

उनले ४० वर्ष नाघेका महिलाहरुले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने सल्लाह दिए । उनले भने, ‘त्यस्तै, ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिनको लागि पनि नियमित परीक्षण गराउनुपर्छ ।’

त्यस्तै, कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक रुपमा जनचेतना जगाउनुपर्ने बताए ।

नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि किशोर किशारीहरूलाई अभिभावकहरूले विशेष ध्यान दिनुपर्ने कडरियाको भनाई छ ।

लोयल्टी एकेडेमीका प्रिन्सिपल योगेशचन्द्र सम्हायेले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमलाई जनचेतनामूलक कार्यक्रम संचालन गरि क्यान्सर रोगबारे जानकारी प्रदान गराएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयले विशेष अभियान संचालन गर्ने प्रतिवद्धता पनि जनाए ।