१ कार्तिक २०८३, आइतबार

पोखरा विमानस्थलको काम छ महिना अगाडि नै सकिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २० माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे बताउनुभएको छ ।

एक सय ८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा आजदेखि तनहुँको दमौलीमा शुरु महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले मुलुकको विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको बताउनुभयो ।

मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताउनुभयो ।

काठमाडाैँमा रहेको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले मात्र धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भइसकेको भन्दै मन्त्री भट्टराईले पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अगाडि नै सकिने बताउनुभयो । निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

दमौलीमा निर्माण गर्न लागिएको बेदव्यासको १०८ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आगामी बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल धार्मिक सहिष्णुता मुलुक भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले पुरानो मौलिक शहर बन्दीपुर, धार्मिक ऐतिहासिक स्थल देवघाट, आदिकविको जन्मस्थल चुँदीरम्घालाई व्यवस्थितरुपमा विकास गर्ने सरकारको सोच रहेको सो अवसरमा जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले मूर्ति निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

यही माघ २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा करीब रु पाँच करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुने भए पनि कोषमा रु ५० लाख मात्रै रहेकाले महायज्ञमार्फत बजेट जुटाउने प्रयास गरिएको श्रेष्ठले बताउनुभयो ।

व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो ।

उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

व्यासमूर्ति सहित सबै संरचना निर्माणका रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुशन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।

निर्माण शुरु भएको चार वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ ।

पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यकपर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजनानुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । –रासस