ललितपुर । नेपाल औषधि व्यवसायी संघ बागमतीले दर्ता नभएका औषधि व्यवसायीलाई सामाजिक बहिष्कार गर्ने भएको छ ।
बागमती अञ्चल शाखाले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र बागमती अञ्चल अध्यक्ष रामेश्वर श्रेष्ठले बिना दर्ताका औषधि पसललाई स्वयं व्यवसायीले सामाजिक बहिष्कार गर्ने बताए ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले दर्ता नभएका औषधि पसलले व्यवसायलाई बदनाम गराएको भन्दै सामाजिक बहिष्कारको नीति लिइएको बताए । ‘सरकारले गैरकानुनीरुपमा चलेका औषधि पसललाई कारबाही गर्न सकेन,’ उनले भने, ‘हामी आफैं उनीहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णयमा पुगेका छौं ।’
श्रेष्ठका अनुसार दर्ता भएर सञ्चालिन औषधि पसलले साइनबोर्डमा एकरुपता ल्याएर सामाजिक बहिष्कारको अभियान प्रारम्भ गरेको बताए । ‘दर्तावाल औषधि पसलको साइनबोर्ड एउटै बनाएका छौं,’ उनको भनाइ थियो, ‘अब सरकारले चाहन्छ भने दर्ता नभएका औषधि पसललाई सोझै कारबाही गर्न सक्दछ ।’
बागमती अध्यक्ष रामेश्वर श्रेष्ठले औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयले बिना दर्ता चलेका औषधि पसललाई कारबाही गर्न ढिला गरेकोमा असन्तोष राखे । ‘हामीले जतिसुकै राम्रो काम गरे पनि गैरकानुनी पसलको बदनामीको मारमा छौं,’ उनले भने, ‘अब यस्तो रवैया धेरै राख्नु उचित होइन ।’
औषधि व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजूले उपत्यकामा फार्मेसी निरीक्षकको दरबन्दी थप गरेर अनुगमनमा थप कडाई गर्ने जानकारी दिए । ‘अहिले ७/८ जना फार्मेसी निरीक्षक हुनुहुन्छ । हामीले जनशक्ति कम भयो’, उनले भने, ‘लोकसेवाले थप ९/१० जनाको दरबन्दी थप गर्दैछ । आशा छ अनुगमनमा अझै कडाई हुन्छ ।’
भूजुले कानुनअनुसार गैरकानुनी औषधि पसललाई कारबाही गर्ने बताए ।
औषधि व्यवसायी संघको आन्तरिक तथ्यांकअनुसार ललितपुरमामात्रै ३० प्रतिशत दर्ताबिनाका औषधि पसल छन् ।
संघका महासचिव प्रशान्त मानन्धरले औषधि व्यवस्था विभागले बिना दर्ता सञ्चालन भएका औषधि पसलतिर अनुगमन सोझ्याउनुपर्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने प्रचलन सुरुवात गर्न औषधि व्यवस्था विभागलाई आग्रह गरे ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले औषधि व्यवसाय संवेदनशील भएको भन्दै अनुगमनदेखि झण्झट नमान्न व्यवसायीलाई आग्रह गरे । ‘तपाईंहरुले औषधि व्यवसायमात्र गर्नुभएको छैन,’ उनले भने, ‘संवेदशनशील सेवामुलक व्यवसाय गर्दैछु भन्ने पनि ख्याल राख्नुपर्छ ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया