काठमाडौँ, २१ फागुन । बिपी चिन्तन प्रतिष्ठानले बिपी मेमोरियल हेल्थ फाउन्डेसन, प्रजातान्त्रिक चिकित्सक सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ तथा ग्लोबल मेडिकल फाउन्डेसनको आर्थिक एवम् प्राविधिक सहयोगमा ‘मेची महाकाली निःशुल्क स्वास्थ्य शिविर राष्ट्रिय महाअभियान’ सञ्चालन गर्ने भएको छ ।
लौहपुरुष गणेशमान सिंहको जन्मशाताब्दीका अवसरमा सो महाअभियान ३५ जिल्लामा आयोजना हुनेछ । यही फागुन २५ गते झापाको दमकमा स्वास्थ्य शिविर आयोजनाबाट सुरु हुने सो महाअभियान आगामी चैत २४ गते सोलुखुम्बुको सल्लेरीमा स्वास्थ्य शिविर आयोजना गरी समापन हुने छ ।
प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले स्वास्थ्य सेवाबाट वञ्चित विपन्न जनतालाई उनीहरुको घर आँगनमै विशेषज्ञ स्वास्थ्य सेवा दिन शिविर आयोजना हुन लागिएको जानकारी दिनुभयो । स्वास्थ्य शिविर ताप्लेजुङको ताप्लेजुङ, झापाको दमक, सुनसरीको चाँदबेला, सप्तरीको रामपुर जमुवा जनता मावि, भोजपुरको भोजपुर बजार, महोत्तरीको गौशाला, सर्लाहीको मधुवनगोठ, रौतहटको चन्द्रनिगाहापुर, बाराको बबुवाइन, पर्साको ठोरी, नवलपरासीको बर्दघाट, बाग्लुङको गलकोट, लमजुङको प्यारजन, गुल्मीको रिडी र कपिलवस्तुको जितपुरमा सञ्चालन हुने छ ।
यसैगरी दैलेखको राकम कर्णाली, डडेलधुराको जोगबुढा, बझाङको चैनपुर, दार्चुलाको खलङ्गा÷गाकुले, सिरहाको मिर्चैया, धनुषाको जदुकुवा, कञ्चनपुरको भीमदत्तनगर, हुम्लाको सिमीकोट, कैलालीको धनगढी तथा नुवाकोट, रुपन्देही, सिन्धुपाल्चोक, तनहँु, म्याग्दी र दाङमा पनि शिविर सञ्चालन हुनेछन् ।
कार्यक्रम संयोजक पुष्पराज पराजुलीले शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षणका साथै रगत, दिसा पिसाब, भिडियो एक्सरे, एक्सरे तथा औषधिको पनि निःशुल्क रुपमा व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । शिविरमा विशेष गरी महिला, बालबालिका, वृद्धवृद्धालाई लक्ष्य गरी स्वास्थ्यकर्मीको संयोजन गर्न लागिएको सहसंयोजक ध्रुव पाण्डेले बताउनुभयो ।
शिविरमा सामान्य चिकित्सा, मुटु, मिर्गौला, छाला, प्रसूति, आँखा, नाक, कान घाँटी, पेटलगायतका परीक्षणको व्यवस्था हुने प्रजातान्त्रिक चिकित्सक सङ्घका महासचिव एवम् नेपाल चिकित्सक सङ्घका महासचिव प्रा डा मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा परीक्षण गर्दा शल्यक्रिया गर्नुपरेका काठमाडौँस्थित बिपी स्मृति अस्पतालमा निःशुल्क रुपमा गरिने छ । यसका लागि आर्थिक सहयोग ग्लोबल मेडिकल फाउन्डेसनले व्यवस्था गर्ने संस्थाका सदस्य नवराज केसीले बताउनुभयो ।
सम्बन्धित जिल्लाका जिल्ला अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल एकेडेमी विराटनगर, चितवन मेडिकल कलेज चितवन, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, नेपालगन्ज मेडिकल कलेजले विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्यकर्मी परिचालन गर्ने चितवन मेडिकल कलेजका निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले बताउनुभयो ।
पूर्वाञ्जल क्षेत्रका शिविरमा राजेन्द्र गुरुङ, सीता घिमिरे, अञ्जना शर्मा, कल्पना सुवेदी, मुक्ति श्रेष्ठ, केदारनरसिंह केसी, बद्री रिजाल, लक्ष्मीराज पाठक, स्वयंप्रकाश पण्डित, विनोद पोखरेललगायत चिकित्सकले सेवा प्रदान गर्नुहुनेछ ।
शिविरका लागि औषधि उत्पादन सङ्घ, पेनेसिया हर्बास्युटिक, देउराली जनता, क्वेस्ट, नेपाल फर्मास्युटिकल ल्याब, मार्क फर्मलेसन, सिम्का ल्याबोरेटरी, ओम फर्मास्युटिकलगायतले आफ्ना उत्पादन प्रदान गर्ने बताइएको छ ।














प्रतिक्रिया