
नेपालगञ्ज*, १५ माघ । पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ।
जिल्लाका किसानले लगाएका आलु, गोलभेंडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए। उनका अनुसार तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ।
जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। तीमध्ये आलु दुई हजार ८००, गोलभेंडा, एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ।
हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेंडा खेतीमा क्षति भएको छ। उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाइएको तरकारीमा बढी क्षति भएको छ। खाल्डो जग्गामा लगाइएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ। उँचो ठाउँमा लगाइएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिए।
किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गरे। बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन्। किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ। रासस












प्रतिक्रिया