१ कार्तिक २०८३, आइतबार

‘प्रहरीले अपराधविरुद्ध कठोर रुपमा प्रस्तुत भई शान्ति कायम गर्नुपर्छ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १३ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । उनले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरे ।

उक्त भवन समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण समेत गरे ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समितिका पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आम नागरिकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनु पर्नेमा जोड दिए ।

प्रहरीले अपराधविरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरु तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले चर्चा गरे ।

समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय प्रहरी साझेदारी” को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताए ।

कानुनको कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिसँगै मानवीय उपस्थिति पनि आवश्यक रहेको उनले उल्लेख गरे ।

समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरुपमा अगाडि बढ्नुपर्ने उनले बताए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए ।

भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमलीले नवनिर्मित भवनको आयव्यय विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।