३ कार्तिक २०८३, मंगलबार

उखु किसानको पैसा नतिर्ने चिनी उद्योगका बैंक खाता रोक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ ।  उखु किसानको करोडौँ रुपैयाँ भुक्तानी नदिने चिनी मिलको बैँक खाता रोक्का हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर खाता रोक्काको जानकारी दिएको हो।

खाता रोक्का हुनेमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योग रहेका छन् ।
उद्योगीलाइै पटक पटक सम्पर्कमा आउन र किसानको रकम भुक्तानी गर्न ताकेता गर्दा पनि अटेर गरेकाले बैँक खाता रोक्का गर्न लागिएको मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख दिनेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले नेपाल राष्ट्र बैंक र आन्तरिक राजस्व विभागलगायत निकायलाई ती उद्योगको आर्थिक कारोबार रोक्का गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ। मन्त्रालयले ७ माघभित्र बक्यौता रकम तिर्न उद्योगीहरूलाई निर्देशन दिएको थियो।

मन्त्रालयले १८ पुसमा किसानसँग पाँचबुँदे सहमति गरेर रकम भुक्तानी गर्न निर्देशन दिए पनि धेरै उद्योगले सबै रकम किसानलाई दिएका छैनन्।

हालसम्म हिमालय सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग, इस्टर्न सुगर मिल्स, रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्री, भागेश्वर सुगर इन्डस्ट्री र एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रीले किसानको बक्यौता तिरिसकेको मन्त्रालयले जानकारी दिएको छ।