
-विनोद ढकाल
कसैले सोध्यो– तपाईले त आईजी सर्वेन्द्र खनालको राम्रो मात्र लेख्नुहुन्छ नि ? निकै बोकेर हिँड्नुभएको छ ।
म नाजवाफ भइँन । मेरो उत्तर थियो– जसले काम गरेको अनुभूति गराउँछ उसले दिएको परिणामका विषयमा लेख्दा बोकेको हुन्छ र ? नराम्रो काम गरेको, पदको दुरुपयोग गरेको अथवा पदीय दायित्वको काम नगरेको पाइए लेख्न कुनै आइतबार छैन ।
फेरि, आईजी जस्तो सुरक्षा अंगको प्रमुखलाई बोक्ने मेरो काँध त्यति बलियो छैन । मैले कामलाई बोक्ने हो, बेकामको आलोचना नै गर्ने हो, यो मेरो पेशागत जिम्मेवारी हो ।
आईजीलाई कामको परिणाम दिने उनका अधिकृतदेखि सिपाहीसम्मका राष्ट्र सेवकले बोकेका छन् । उनको काममा विश्वास गर्ने आम साधारणले बोकेका हुन सक्छन् । कुनै अमुक पत्रकारको काँधमा आईजीको फूली लगाएर कोही बस्दैन ।
त्यसो हो भने त उनका विषयमा अनेक कोणबाट समाचार आएकै छन् । पुष्टि हुनु नहुनु त्यो अर्को कुरा हो । तिनलाई कसले बोक्यो ? यस्तो प्रश्न गर्न सुहाउँदैन ।
केही आशा, केही अपेक्षा र कामको दृढता हुन सक्छ वा त्यसमा केही दबाब मिल्न सक्छ भनेर नै सर्वेन्द्र खनाल नेपाल प्रहरीको प्रमुखमा नियुक्ति हुनासाथ सुझावसहितको समालोचनात्मक विचार पस्किएको थिएँ–
र, यो पनि सर्वेन्द्र समय शीर्षकमा ।
‘सर्वेन्द्र समय’को अर्थचाहिँ उनको प्रहरी सेवा । अर्थात् अहिलेचाहिँ आईजीको कार्यकालका अर्थमा व्याख्या गर्ने कोशीश गर्छु ।
अनेक मानिसका अनेक अपेक्षा हुन्छन् प्रहरीसँग । प्रहरी संगठन प्रमुख जनतासँग प्रत्यक्ष सरोकारको केन्द्र भएका कारण उसको भूमिका आम मानिसलाई पनि समय दिनुपर्नेसँग हुन्छ । यो सेनाको प्रमुखको जिम्मेवारीजस्तो हुँदैन । खनालको सरलता त्यो हदसम्म सहज देखियो ।
उनले चलाएको समुदाय प्रहरी साझेदारीको कार्यक्रमले नागरिकको पहुँच र प्रतिक्रिया सरल छ । दोषीले न्याय पाउन सकेको अनुभूति भएकै जस्तो देखिन्छ । हरेक विद्यालयदेखि समुदायका प्रत्येक सदस्यसँग प्रहरीको सम्पर्क सरल हिसाबले मात्र छैन, सहजीकरणका दृष्टिले पनि बलियो बन्यो त्यसले त ७५३ स्थानीय तहमा प्रहरीको उपस्थिति गराउन खनाल सफल भए भन्ने प्रष्ट नै देखिन्छ ।
सामाजिक अपराधले जकडिएको नेपाली भूमिका आफ्नै दुख छन् । तत्कालिन आईजी अच्युतकृष्ण खरेलको अनुभवलाई सुन्ने हो भने प्रहरीले समाजमा दक्षताका साथ काम गर्नका लागि स्रोत साधन मात्र होइन कुशल नेतृत्वको क्षमता पनि विकास गर्नुपर्छ । संगठनमा राजनीतिक हस्तक्षेप र प्रहार त प्रजातान्त्रिक कालमा नराम्रोसँग भएकै हो । त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने विषयचाहिँ नेतृत्व सम्हाल्ने ‘क्याप्टेन’ कै हो ।
क्षमता र दक्षताका आधारमा जीवनमा प्रहरी संगठनलाई बलियो राखेका खरेलले पनि राजनीतिक र वैयक्तिक नियतका आधारमा कम हन्डर खाएका थिएनन् । यी सबै हन्डरलाई चिर्दै उनले संगठनको मान र शानलाई कायम राखेका किस्सा अहिलेसम्म सुनिन्छन् ।
चाहे गिरीजाप्रसाद कोइराला हुन् या माधव नेपाल, खुमबहादुर खड्का हुन् वा बामदेव गौतम सबैसँग संगठनका विषयमा उनका अनेक बहस र विवाद भए । गोविन्दराज जोशीले उनलाई खासै तनाव दिएनन्, बाँकी कसलाई म्यानेज गर्नु परेन र ?
खरेलले दुई राजनीतिक अवस्थाको प्रहरी चलाएको, भोगेको कारणले नै उनको उदाहरण पेस गर्नु उपयुक्त ठहरियो । तर संगठनलाई लिकबाट उत्रिन दिएनन्, कहिँ कतै उत्रिएको भए पनि उनले त्यसलाई ल्याउने कोशीश उनको हेउले भ्याएजति गरेका कथा किस्सा हाम्रो पुस्ताले राम्रैसँग सुनेको बुझेको छ ।
सर्वेन्द्र खनाल त्यसपछिका दुई चरणको राजनीतिक अवस्था मात्र हैन, उत्तरआधुनिक गणतान्त्रिक काललाई छिचोल्नैपर्ने समयमा संगठनको प्रमुख भए । त्यहाँमाथि राजनीतिक संक्रमणको लामो समयसम्मको घाउ बोकेको छिद्र संगठनलाई चलाउनुपर्ने चुनौतिका साथ उभिए । पक्कै पनि एउटा प्रहरी अधिकृतमा संगठनको प्रमुख बन्ने वैयक्तिक चाहना नहुने कुरै भएन, त्यो चाहनासँग उनका साथ थपिए कमजोर संगठन सुधार र नयाँ काम गर्नुपर्ने व्यवाहारिक चुनौति ।
राज्य पुर्नसंरचनाका आधारमा चलिरहेको अवस्थामा प्रहरीलाई पनि त्यही ढाँचामा लैजानुपर्ने अवस्था एउटा, संगठनका रिक्त पदपूर्ती, रोकिएका सरुवा बढुवा, कम रहेका संख्याको भर्ती अर्को काम बाँकी थियो । त्यसबाहेक सरकारले प्रतिबन्ध गरेको एउटा हिंसात्मक गतिविधिमा रहेको राजनीतिक दल नेकपा विप्लवलाई तह लगाउनुपर्ने निर्देशन । सामाजिक अपराधमा राजनीतिक, रणनीति र अनेक कोणबाट विथोलिएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानको चटारो सुल्झाउने अभ्यास पनि चलिरहेकै थियो ।
उनको काम गराईमा कुनै कमजोरी देखिँदा मैले लेखेको थिएँ– अब आईजी खनालले ‘मोरल’ उत्तरहरु दिनुपर्छ र्शीषकमा पनि ।
समालोचना एउटा विषय हो । तर आलोचना र नियतबस आत्मकेन्द्रित अभियानले स्वच्छ मुल्यांकन हुन्छ ?
राजनीतिक मुद्दा नपाएका सत्तारुढ पार्टीका विद्यार्थी नेताले खनालको राजीनामा माग्दै निर्मला पन्त प्रकरणमा फेस सेभिङका लागि ज्ञापनपत्र पनि बुझाए । राजनीति र प्रहरी कर्ममा रहेको फरक के हो भने निर्मला पन्त प्रकरणको अनुसन्धान जारी नै छ । तर तिनै विद्यार्थी संगठनले आफ्ना नेता, पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्दा प्रहरीलाई स्याब्बासी दिएन, सामाजिक सञ्जालमा रोइलो मच्चाए । तर, खनालले न्यायका निम्ति यो प्रकरणलाई कानुनी दायरामा उभ्याए ।
प्रहरी अनेक लाभ लिने समूहको घेराबन्दीमा पनि हुँदो रहेछ । तिनका राजनीतिक पहुँच र दबाबले प्रक्रियालाई प्रभावमा राखिदिने संस्कारलाई तोड्नु पनि एउटा ठूलै पराक्रम हो । त्यसलाई सृजनात्मक शैलीमा तोड्दै समाजमा प्रहरीलाई कुशलताका रुपमा उभ्याउन सकेकै कारण आईजी खनाल कार्यकालको उत्तरार्ध झनै गज्जब देखिएको छ
यतिमात्र होइन, हाइप्रोफाइल व्यक्तिहत्याका अभियुक्तलाई पक्राउ गर्ने क्रममा मोहम्मद अफताब आलमलाई पनि छाडेनन् । १२ बर्षअघि भएको हत्याकाण्डका दोषीलाई अदालतसम्म पु¥याउनका निम्ति खरो अनुसन्धानसहितको प्रतिवेदन पेस गर्न लगाए । सुदखोर, मिटरव्याजी, गुन्डा नाइके, हप्ता उठाउनेलाई टाउको उठाउने मौका दिएनन् । यसलाई नजरअन्दाज गर्न मिल्छ ?
प्रहरीले काम गरेन, गरेको काम भएन अनि भएको काममा खोट देखाउने लाउके लाउकीहरू तिनै हुन् जो राजनीतिक दबाबका आधारमा मात्र काम गराउन तल्लिन हुन्छन् । कार्यपालिकाको निष्पक्ष काम, दबाबरहित काम हुनुपर्छ भन्ने अर्को दबाब आफूनिकट नेता, राजनीतिक दल र तिनका ‘भद्र गुन्डागर्दी’विरुद्ध बोल्दैनन् कोही । भएका कामको जस नदिने र अपजस कसरी खोज्ने भन्ने समयको चक्रभित्र प्रभावकारी काम गरेका आईजी खनालको लय अबका आउने आईजीले समाते भने प्रहरी पक्कै ‘मेरो साथी’ हुन्छ भन्ने आत्मविश्वास जगाउनेतिर कसले ध्यान दिने ? यहाँ मानिसलाई मुद्दा चाहिएको छ आलोचना गर्ने । अस्वस्थ्य आलोचना गर्ने । त्यसैले कोही रवि लामिछाने खोज्छन्, कोही आस्था राउत सोध्छन् ।
कसै न कसैले त सुशासित प्रहरी अधिकारीको काम गर्ने तरिकाको ट्रयाक खोल्नुपर्ने थियो नि । त्यो ट्रयाक खनाल अघि कसले खोलेको थियो र ? उनी आईजी हुनुअघि जसरी संगठनमा आँच आउनेगरी लफडा भयो, यसले त प्रहरी संगठन नै राजनीतिक दबाबको दाउपेच बनिसकेको थियो । कोही घन्टाभरका लागि पकेटबाट नाम निकालेर वैधानिक निर्णयका आईजी, कोही अदालतको आदेशमा त्यहि बाटो कुरिरहेका आईजी, कोही भने डिभाइड एन्ड ‘रुल’ भन्ने आश ताकिरहेका व्यक्ति । यसरी नै बित्यो खनालअघिको कार्यकाल । यसलाई हामीले पनि राम्रोसँग अध्ययन गरेकै थियौं ।
प्रहरी अनेक लाभ लिने समूहको घेराबन्दीमा पनि हुँदो रहेछ । तिनका राजनीतिक पहुँच र दबाबले प्रक्रियालाई प्रभावमा राखिदिने संस्कारलाई तोड्नु पनि एउटा ठूलै पराक्रम हो । त्यसलाई सृजनात्मक शैलीमा तोड्दै समाजमा प्रहरीलाई कुशलताका रुपमा उभ्याउन सकेकै कारण आईजी खनाल कार्यकालको उत्तरार्ध झनै गज्जब देखिएको छ । आउने आईजीले यी अभ्यासलाई निरन्तरता दिँदै प्रहरी संगठनलाई अझ प्रभावकारी र कर्मपरक बनाउन सक्नुपर्छ ।
खनालका कार्यकालमा भएका कामको लिष्ट लामो छ । सानातिना सामाजिक अपराध, वित्तिय अपराध, घुुसखोरी, बैंकिङ ह्याकिङ, विद्युतीय चोरी नियन्त्रणलगायतका अनेक क्षेत्रमा प्रहरी नेतृत्वका हिसाबले खनालले देखाएको सहयोग र सत्कर्मको आलोचना गर्नु अन्याय हुन्छ । उनका आलोचना गर्नुपर्ने विषय पनि हुन सक्छन् । तर, उनको कामले तिनलाई फिक्का बनाएको जस्तो देखिन्छ ।















प्रतिक्रिया